भेनेजुएलामा आक्रमण गर्न ट्रम्पले प्रयोग गरेको ‘मुनरो डक्ट्रिन’ के हो ?


वासिङ्टन डीसी । अमेरिकी सेनाले गएको सप्ताहन्तमा भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति र प्रथम महिलालाई नियन्त्रणमा लिई अमेरिका लगेको छ । यो आक्रमणप्रति विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २०० वर्ष पुरानो सिद्धान्तको नाम लिँदै आक्रमणको औचित्य पुष्टि गर्न खोजिरहेका छन् । शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई अपहरण गर्ने शैलीमा भएको आक्रमण ‘मुनरो डक्ट्रिन’ मा टेकेर गरिएको ट्रम्पले बताएका छन् ।

- के हो मुनरो सिद्धान्त ?
यो ल्याटिन अमेरिकालाई लिएर अमेरिकाको दीर्घकालीन विदेश नीतिको रूपरेखासम्बन्धी एउटा सिद्धान्त हो । मुनरो सिद्धान्तले विश्वलाई विभिन्न शक्तिहरूद्वारा निगरानी गरिने प्रभावका क्षेत्रहरूमा बाँडेको छ । यो सिद्धान्तअनुसार अमेरिकाले युरोपेली देशको राजनीतिमा हस्तक्षेप गर्ने छैन । यसको बदलामा युरोपले पनि अमेरिकी महादेशमा कुनै पनि युरोपेली देशको साम्राज्य विस्तार गर्ने छैन ।
मुनरोले पहिलो पटक १८२३ को डिसेम्बर २ मा कांग्रेसमा आफ्नो सातौं वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनको क्रममा यो सिद्धान्तबारे कुरा गरेका थिए । तर, दशकौंपछिसम्म सिद्धान्तको नाम उनको नाममा राखिएको थिएन । युरोपेली शक्तिहरूलाई अमेरिकाको मामिलामा हस्तक्षेप नगर्न उनले चेतावनी दिएका थिए । त्यस प्रकारको कुनै पनि कार्यलाई अमेरिकामाथि आक्रमणको रूपमा हेरिने उनको भनाइ थियो ।
_m10bQ8RH0V.jpg)
अमेरिकाले विद्यमान युरोपेली उपनिवेशहरू वा युरोपेली देशहरूको आन्तरिक मामिलाहरूलाई मान्यता दिने र हस्तक्षेप नगर्ने, तर उत्तर एवम् दक्षिण अमेरिका भविष्यमा कुनै पनि युरोपेली शक्तिद्वारा उपनिवेशीकरणको अधीनमा नहुने कुरा सिद्धान्तमा उल्लेख गरिएको थियो । धेरै पक्षहरूमा, मुनरो सिद्धान्तले अमेरिकामा यथास्थिति कायम राख्न आग्रह गरेको थियो । तर, यसले युरोपसँगको सम्बन्ध विच्छेद पनि गरायो ।
१९०४ मा मुनरो सिद्धान्तमा ‘रुजवेल्ट कोरोलरी’ (अनुपूरक सिद्धान्त) थपियो । तत्कालीन राष्ट्रपति थियोडोर रुजवेल्टले ल्याटिन अमेरिकी देशहरूमा विशेष गरी ऋण वा अस्थिरताको मामिलामा युरोपेली हस्तक्षेप रोक्न, स्थिरता कायम राख्न र पश्चिमी गोलार्धमा अमेरिकाको हितको रक्षा गर्न हस्तक्षेप गर्ने कुरामा अमेरिकी अधिकारमा जोड दिए ।
सोही वर्ष युरोपेली ऋणदाताहरूले धेरै ल्याटिन अमेरिकी देशहरूलाई धम्क्याएपछि रुजवेल्टले सिद्धान्त अनुरूप यस मामिलामा संलग्न हुने र अमेरिकाको हितको रक्षा गर्ने अधिकार अमेरिकासँग भएको बताएका थिए । १९०२–१९०३ को संकटपछि भेनेजुएलाले आफूले लिएको विदेशी ऋण तिर्न अस्वीकार गरेपछि मुनरो डक्ट्रिनको कुरा उठेको थियो ।

- हालैका दशकहरूमा अमेरिकाले यसलाई कसरी लागू गरेको छ ?
त्यसपछिका दशकहरूमा मुनरो सिद्धान्त अलिअलि फेरिँदै गयो । अनि डोमिनिकन गणतन्त्र, हैटी र निकारागुआमा अमेरिकी हस्तक्षेपको औचित्य पुष्टि गर्न यसको नाम लिइयो । १९८० को दशकमा, राष्ट्रपति रोनाल्ड रेगनले यस क्षेत्रप्रति आक्रामक दृष्टिकोण अपनाए । यसलाई उनका विरोधीहरूले ‘साम्राज्यवादी’ को संज्ञा दिएका थिए ।
निकारागुआमा स्यान्डिनिस्टाको वामपन्थी सरकारविरुद्ध दक्षिणपन्थी कन्ट्रालाई समर्थन गरेर उनले अमेरिकालाई इरान–कन्ट्रा हतियार तस्करी काण्डमा फसाइदिए । एल साल्भाडोर र ग्वाटेमालामा अत्याचारको आरोप लागेका दक्षिणपन्थी सरकारहरूलाई पनि उनले समर्थन गरे ।
फिडेल क्यास्ट्रोको क्रान्ति यता लामो समयदेखि क्युबा अमेरिकाको तीव्र दबाबमा छ । आजका दिनसम्म पनि त्यहाँ अमेरिकी सैन्य उपस्थिति र आर्थिक रूपमा दण्डात्मक प्रतिबन्धहरू छन् । २०१३ मा मादुरोका पूर्ववर्ती ह्युगो चाभेजको मृत्यु हुनुअघि उनीविरुद्धका विद्रोहलाई भड्काउन अमेरिकाले प्रयासहरू गरेको खबर पनि आएका थिए ।























