सिरहामा जसपा नेपाललाई झट्का: रामलोचन ठाकुर ‘स्वामीजी’सहित आम जनता पार्टीमा प्रवेश


पौष २०। सिरहा जिल्लाको कल्याणपुर निवासी जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व जिल्ला अध्यक्ष रामलोचन ठाकुर ‘स्वामीजी’ सहित विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरू आज औपचारिक रूपमा आम जनता पार्टीमा प्रवेश गर्नुभएको छ।
आम जनता पार्टीका केन्द्रीय कार्यालय, कोटेश्वर स्थित विशेष कार्यक्रमका बीच नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमप्रति विश्वास व्यक्त गर्दै पार्टीमा समाहित हुनुभएको हो।
कार्यक्रममा पार्टी नेतृत्वद्वारा रामलोचन ठाकुर ‘स्वामीजी’ सहित सबै नवप्रवेशीलाई स्वागत–सम्मानसहित हार्दिक बधाई एवं शुभकामना व्यक्त गरिएको थियो। पार्टी नेतृत्वले अनुभवी, संघर्षशील र जनआधारित नेताको प्रवेशले संगठनात्मक सुदृढीकरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। विशेषगरी सिरहा जिल्ला तथा सम्पूर्ण मधेस क्षेत्रमा पार्टीको जनआधार विस्तारमा उहाँहरूको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ।
नवप्रवेशीहरूका तर्फबाट बोल्दै रामलोचन ठाकुर ‘स्वामीजी’ले आम जनता पार्टीले उठाउँदै आएको सुशासन, सामाजिक न्याय, जनअधिकार र भ्रष्टाचारविरुद्धको स्पष्ट धारणाबाट आफू प्रभावित भएर पार्टी प्रवेश गरेको बताउनुभयो। उहाँले आगामी दिनमा पार्टीको नीति कार्यान्वयन, संगठन निर्माण तथा जनताको पक्षमा संघर्ष गर्न पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले नवप्रवेशीहरूलाई फूलमाला र पार्टीको झण्डासहित स्वागत गर्दै, पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न एकजुट भएर अघि बढ्ने संकल्प व्यक्त गरेका थिए।आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले खाँदा माला टिका लगाएर नवप्रवेशीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएको थियो।























