भेनेजुएला संकटः कमलाले गरिन् ट्रम्पको कडा आलोचना


वासिङ्टन डीसी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेकोमा अमेरिकाकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनको कडा आलोचना गरेकी छिन् । यस कदमलाई उनले अवैध र अनावश्यक बताइन् ।माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा लामो पोस्टमा कमला ह्यारिसले मादुरो एक क्रूर र अवैधानिक शासक भएको स्वीकार गरिन् । तर भेनेजुएलामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा सस्तो पनि नबनाउने उनको भनाइ छ ।
‘भेनेजुएलामा ट्रम्पको कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा सस्तो बनाउँदैन । मदुरो एक क्रूर र अवैध तानाशाह हुन सक्छन्, तर त्यसले यो कार्य अवैध र गलत थियो भन्ने तथ्यलाई परिवर्तन गर्दैन । हामीले यस्तो पहिले पनि देखिसकेका छौँ ।’ उनले लेखेकी छिन् । ‘सत्ता परिवर्तन वा तेलको नाममा लडिएका युद्धहरूलाई शक्तिको कार्यको रूपमा प्रस्तुत गरिन्छ, तर अन्त्यमा तिनीहरू अराजकतामा परिणत हुन्छन्, र अमेरिकी परिवारहरूले मूल्य चुकाउँछन् ।’ अझ अगाडि उनले लेखेकी छिन् । मदुरो र उनकी श्रीमतीलाई भेनेजुएलाबाट पक्राउ गरेर अमेरिका लगिएको छ ।
ट्रम्प प्रशासनले यो काम न त लागूपदार्थको तस्करी रोक्ने गरेको न त लोकतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्यलेगरेको पनि उनले भनिन् । यो काम केवल तेलको हितसँग जोडिएको उनको आरोप छ । ‘यदि साँच्चै यी कुराहरूको चिन्ता हुन्थ्यो भने दोषी ठहरिएका लागूपदार्थ तस्करलाई माफी दिँदैन थिए अनि उनीहरूले मदुरोका साथीहरूसँग सम्झौता गरेर भेनेजुएलाको वैध विपक्षीलाई सीमान्तकृत गर्दैन थिए’ भनेर पनि उनले लेखेकी छिन् ।























