राजनीति

.आगामी निर्वाचन केन्द्रित रणनीतिसहित बर्दियामा आम जनता पार्टीको क्षेत्रीय भेला

नवलपुर टुडे
२०८२ पुस १९ | मध्यान्ह ०६:०९ बजे

बर्दिया । देशमा मौलाउँदै गएको भ्रष्टाचार, बेथिति र आर्थिक शोषणविरुद्ध सशक्त खबरदारी गर्ने उद्देश्यका साथ आम जनता पार्टीको विशेष क्षेत्रीय भेला आज बर्दिया जिल्लामा सम्पन्न भएको छ। भेलाले भ्रष्टाचारविरुद्ध निर्णायक संघर्ष अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनलाई केन्द्रमा राखी संगठन सुदृढीकरण र राजनीतिक रणनीति तय गरेको छ।

भेलामा आम जनता पार्टीका संगठन विभाग प्रमुख त्रिभुवन साह, लुम्बिनी प्रदेश अध्यक्ष विजय यादव निर्विज तथा लघुवित्त संघर्ष समितिका केन्द्रीय तथा क्षेत्रीय नेताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, जनसम्पर्क विस्तार, आन्दोलनको दिशा र आगामी निर्वाचनको तयारीबारे गहन छलफल गरिएको जनाइएको छ।

वक्ताहरूले राज्य संयन्त्रभित्र गहिरिँदै गएको भ्रष्टाचार, लघुवित्त तथा वित्तीय संस्थामार्फत सर्वसाधारणमाथि भइरहेको शोषण र जनताको जीवनस्तर खस्कँदै गएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले जनताको पक्षमा उभिने राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै आम जनता पार्टी भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा उभिने स्पष्ट सन्देश दिए।

भेलाले आगामी निर्वाचनमा जनमुखी नीति तथा कार्यक्रमका आधारमा इमानदार, योग्य र जनउत्तरदायी उम्मेदवार अघि सार्ने निर्णय गरेको छ। साथै, गाउँ–गाउँ र टोल–टोलसम्म पार्टी संगठन विस्तार गर्दै जनचेतना अभिवृद्धि र भ्रष्टाचारविरुद्धको संघर्षलाई थप सशक्त बनाउने निष्कर्ष निकालिएको छ।

भेलाले आम जनता पार्टीलाई भ्रष्टाचारविरुद्धको जनआन्दोलनको भरोसायोग्य राजनीतिक विकल्पका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ।

कमेन्टहरु