शीतलहरबाट नगरबासीलाई जोगाउन गरुडा नगरपालिकाद्वारा दाउरा वितरण


रौतहट । रौतहटमा लगातार एक सातादेखि बाक्लो हुस्सु र कुहिरोसँगै चिसो स्याँठ बढ्दै गएपछि गरुडा नगरपालिकाले नगरबासीलाई लक्षित गर्दै दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले कठ्याङ्ग्रिने चिसोबाट नगरबासीलाई जोगाउने उद्देश्यले आगो ताप्न आवश्यक दाउरा वितरण गर्नु भएको हो । चिसोका कारण दैनिक जनजीवन प्रभावित बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै नगर प्रमुख जैसवाल स्वयं उपस्थित भई नगरका प्रत्येक वडामा दाउरा वितरण गरिएको नवलपुर टुडेलाई जानकारी दिनुभयो ।
आज शनिबार बिहानैदेखि नगरका विभिन्न चौक–चौतारा, मठ–मन्दिर, प्रहरी चौकी तथा अन्य सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि काठ वितरण गरिएको उहाँले बताउनुभयो । अन्य धेरै पालिकाहरूले चिसो बढ्दासमेत दाउरा वितरण नगरेको अवस्थामा गरुडा नगरपालिकाले भने यो कार्यक्रम यसवर्ष मात्र होइन, विगतका वर्षहरूदेखि नै निरन्तर रूपमा सञ्चालन गर्दै आएको नगर प्रमुख जैसवालले उल्लेख गर्नुभयो ।
उहाँले बढ्दो चिसोका कारण कुनै पनि व्यक्ति समस्यामा नपरोस् भन्ने उद्देश्यले आवश्यकता अनुसार थप सामग्रीसमेत वितरण गरिने प्रतिबद्धता सञ्चारकर्मीसँग व्यक्त गर्नुभयो । नगरपालिकाको यस सराहनीय कार्यबाट नगरबासीहरू खुशी भएका छन् भने उनीहरूले नगर प्रमुख जैसवाललाई विशेष धन्यवादसमेत व्यक्त गरेका छन् ।























