‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’


भरतपुर (चितवन), पुस १८। सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई जोडेर ‘गोल्डेन ट्रायङ्गल’का रूपमा विकास गर्न सकिने सुझाव दिनुभयो ।
त्यस अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले भरतपुर प्रमुख पर्यटकीय गन्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशभरा २७ वटा पाँचतारे होटल छन्, त्यसमध्ये चितवनमा मात्र छवटा छन्, पर्यटनमा राम्रो सम्भावना भएकाले पनि पर्यटकीय पूर्वाधारमा लगानी पनि बढेको छ ।”
उहाँले भरतपुरमा रहेको पर्यटनको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नका लागि ‘कनेक्टिभिटी’ महत्त्वपूर्ण भएको बताउनुभयो । “भरतपुर भूगोलका हिसाबले मध्यभागमा छ, यहाँस्थित चितवन राष्ट्रिय निकुञ्जमा मात्र पाँच सय ४६ भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन्, थारूको संस्कृति, जङ्गल सफारी, बोट सफारी गर्दा अचम्मको शान्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षाका हिसाबले पनि यो गन्तव्य बनेको छ ।”
पर्यटनविज्ञ डा विश्व सुवेदीले चितवनलाई पर्यावरणमैत्री पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले र लुम्बिनीलाई सांस्कृतिक पर्यटन, पोखरालाई पदयात्रा पर्यटन र चितवनलाई वाइल्ड लाइफ सफारी पर्यटनका रूपमा विकास गरी जोड्न आवश्यक भएको बताउनुभयो । यसका लागि पोखरा महानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका र भरतपुर महानगरपालिकाबीच सहकार्य गर्न लागिएको पनि बताउनुभयो ।
साथै भरतपुर नगरपालिकाले यहाँ रहेका सातवटा ताललाई समेटेर लेकसाइड नयाँ सर्किट बनाउन लागेको उहाँको भनाइ छ । साथै भरतपुरको पर्यटकीय गतिविधि बढाउनका लागि सोहीअनुसारका गतिविधि पनि बढाउन लागेको बताउनुभयो ।























