वीरगन्ज कारागारमा भाइरल ज्वरोको प्रकोप बढ्दै, औषधी अभाव छैन


पर्सा । वीरगन्ज कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । कारागारका स्वास्थ्य प्रमुख दीपक यादवका अनुसार एक सातायता भाइरल ज्वरोको प्रकोप देखिएको हो । कैदीबन्दीमा ज्वरो तीव्र रुपमा बिस्तार भइरहको छ ।
आइतबारसम्ममा २ सय ६० कैदीबन्दीमा ज्वरो देखिइसकेको उनले जानकारी दिए । ‘ज्वरोको प्रकोप तीव्र रुपमा फैलिरहेको छ,’ उनले भने, ‘अधिकांश बिरामी कैदीबन्दीमा कारागार बाहिर फैलिएको इन्फ्लुएन्जा ‘ए’को जस्तै रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएको छ ।’
बिरामी कैदीबन्दीको उपचार गर्दागर्दै आफू पनि शनिबारदेखि भाइरल ज्वरोको सिकार भएको यादवले बताए । ‘म मात्र होइन, कारागारका अस्पताल नाइके लगायतको उनको समूहका १० जनामा पनि भाइरल ज्वरो देखिएको छ,’ उनले भने, ‘ज्वरोका बिरामी थपिने क्रम दैनिक बढ्दो छ ।’ पुरुष मात्र नभइ महिला कैदीतर्फ पनि भाइरल ज्वरोको प्रकोप फैलिएको उनले बताए ।
कारागारका निमित्त जेलर नवराज बर्तौलाले बिरामीको उपचार गर्न हाल औषधिको अभाव नरहेको बताए । ‘बिरामीको संख्या ठूलो भएपनि हामीसँग अहिले औषधिको अभाव भएको छैन,’ उनले भने, ‘गतसाता मात्रै औषधि आएकाले हामीलाई पुग्ने औषधिको मौज्दात छ ।’ कारागारमा आइतबार महिला र पुरुष गरी १ हजार २ सय ५८ कैदी बन्दी रहेको उनले जानकारी दिए ।






















