पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण


नवलपरासी पुस १७। बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिनुभएको हो ।
उँखुखेतीमा लागत बढी लाग्ने र चिनी मिलले समयमा भुक्तानी पनि नदिने भएपछि उँखुखेती छोडेर १४ बिघा जग्गामा व्यावसायिक आलु, केरा र तरबुजा खेती सुरु गरेको यादवले बताउनुभयो । अन्य कृषि बाली जस्तो जोखिम नहुने र परिवारलाई समय दिएर पनि उत्पादन लिन सकिने भएकाले आलु, केरा र तरबुजाखेती गरेको उहाँको भनाइ छ ।
यो आर्थिक वर्षमा भारतबाट आउने केराको खपत हुँदा स्थानीय उत्पादनले बजार नपाएपछि घाटा लागेको उहाँले बताउनुभयो । पाल्हीनन्दन गाउँपालिका–४ का रामसेवक कुर्मीले तीन वर्षदेखि दश कठ्ठा जग्गामा व्यावसायिक आलुखेती गर्दै आउनुभएको छ ।
जिल्लाको रामग्राम, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका क्षेत्र आलुखेतीका लागि माटोसँगै सिँचाइको व्यवस्था भएकाले उत्पादनका दृष्टिले सम्भावना बेकेका क्षेत्रका रूपमा तोकिएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार व्यावसायिक आलुखेती प्रवर्द्धनका लागि किसनालाई बाली विशेष आयोजनातर्फको कार्यक्रमबाट ५० प्रतिशत अनुदान दिने गरिएको छ । जिल्लामा पाँच हेक्टर जमिनमा व्यावसायिक आलुखेती भइरहेको केन्द्रले जनाएको छ ।
यहाँ उत्पादित आलुले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धाने बाँकीका लागि बाहिरी जिल्लाको भर पर्नुपर्ने अवस्था रहेको पौडेलले बताउनुभयो ।























