‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ :महामन्त्री थापा


काठमाडौँ, पुस १६। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताउनुभएको छ । आज राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्नुभयो ।
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्नसक्ने कांग्रेस बनाउनु आजको लागि प्रत्येक कार्यकर्ताको युगिन जिम्मेवारी भएको महामन्त्री थापाको भनाइ छ । आजभन्दा ४९ वर्ष अगाडि विषम् परिस्थितिमा ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर विपी कोइराला, गणेशमान सिंहलगायत नेताहरू नेपाल फर्किनुभएको उहाँले स्मरण गर्नुभयो ।
महामन्त्री थापाले आमजनताको परिवर्तनको आकाङ्क्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अगाडि बढ्ने प्रेरणा सबैलाई मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।























