निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल


मोरङ, पुस १६। गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिनुभएको छ ।गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा उहाँले फरार अधिकांश कैदीबन्दी सम्पर्कमा भइसकेको र बाँकीलाई समेत विशेष अभियान सञ्चालन गरी यथाशीघ्र नियन्त्रणमा ल्याइने बताउनुभयो ।
सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात्का कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको बताउनुभयो ।
उहाँले निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पु¥याई शासनको वैधानिकता प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुन्छ । देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।”
निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल ‘म्यान्डेड’का साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको गृहमन्त्री अर्यालको भनाइ छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैरदलीय सरकारलाई तटस्थ भएर निर्वाचन गराउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनको वातावरण अझै बनिनसकेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “निर्वाचन आउन दुई महिना बाँकी त्यसको वातावरण निर्माण गर्नुपर्छ ।”
सुरक्षाकर्मीलाई उच्च मनोवल बनाउनका लागि आवश्यक साधनस्रोतले सम्पन्न बनाउन गृह मन्त्रालयलाई मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलगायले सम्बोधन गर्नुभएको थियो ।
सुरक्षा बैठकमा नेपाली सेनाका बलाधिकृत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, कोशी प्रदशेका १४ वटै जिल्लाका सुरक्षा प्रमखहरुको सहभागिता रहेको छ ।























