तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन , वैकल्पिक सडक प्रयोग गर्न अनुरोध


मध्यविन्दु (नवलपरासी), पुस १६ । गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै सहज हुन सकेको छैन । शीतलहरले दाउन्ने सडक चिप्लो हुँदा सवारीसाधन सञ्चालन हुन नसकेर अवरुद्ध भएको सडक अझ सहज हुन नसकेको हो ।दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।
दाउन्नेमा बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालनमा अत्यधिक कठिनाइ भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीले बताउनुभयो । “अहिले पनि दुम्कीवास बजारदेखि नै सवारीसाधनको जाम कायम रहेको छ”, उहाँले भन्नुभयो, “सडक निर्माणका कारण एकतर्फी रहेको राजमार्गमा लामो समय सवारी जाम हुँदा सञ्चालन गराउन निकै समस्या भएको छ ।”
नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव कायम रहेकाले पश्चिम खण्डमा अझ धेरै सवारी चाप रहेको बताउनुभयो । “हाल खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको र अवस्था सहज नहुँदासम्म मालवाहक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकेर राखिएको छ”, उहाँले भन्नुभयो ।
तीन दिनदेखि जारी सवारी जामका कारण सयौँ यात्रु अलपत्र परेका छन् । नारायणगढ–बुटवल सडक योजना -पश्चिम खण्डंले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । दाउन्ने खण्डमा एकातिर सडक निर्माण र मर्मतको काम, अर्कोतिर शीतलहरले सडक हिलाम्य बनेपछि सवारीसाधन सञ्चालनमा गम्भीर समस्या देखिएको आयोजनाले जनाएको छ ।























