समाचार

मुलुकले अब अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको छ:  प्रधानमन्त्री कार्की

पुरुषोत्तम सुवेदी
२०८२ पुस १६ | बिहान ०६:०९ बजे

काठमाडौँ । प्रधानमन्त्री कार्कीले मुलुक अब थप अस्थिरताको पक्षमा नरहेको बताउँदै देशलाई स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनुको विकल्प नभएको बताएकी छिन् । तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा मंगलबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव र ठुलो शक्ति भएको उल्लेख गर्दै तमु (गुरुङ) समुदायको  ल्होसार जस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरिन् ।

भयरहित वातावरणको प्रतिबद्धता
सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरीन् । यस कार्यका लागि राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीको सक्रिय सहभागिताका लागि उनले अपिल गरीन् ।

निर्वाचनको तयारी नयाँ कोशेढुङ्गामा
आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीले आगामी फागुन २१ गते तय भएको निर्वाचनको प्रसङ्गलाई मुख्य प्राथमिकताका साथ सरकार अघि वढेको जानकारी गराईन् । निर्वाचन आयोगमा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गरिसकेको जानकारी दिँदै उनले भनीन,  यसबाट हामीले निर्वाचन सम्पन्न गर्ने दिशामा एउटा नयाँ कोशेढुङ्गा पार गरेका छौँ।  

उनले स्वच्छ र निष्पक्ष निर्वाचन नै युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने मुख्य आधार भएको बताउँदै यस प्रक्रियामा सहभागी राजनीतिक दल र युवाहरूले देखाएको सुझबुझको प्रशंसा  गरीन् । काठमाडौँको टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा गुरुङ समुदायका विभिन्न झाँकी तथा सांस्कृतिक प्रदर्शन गरिएका थिए।

कमेन्टहरु