तमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्ने छः राष्ट्रपति

रासस
२०८२ पुस १५ | मध्यान्ह ०१:०९ बजे

काठमाडौँ, पुस १५ । राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको हो ।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरका रूपमा हर्षोल्लासका साथ मनाउने चलन छ ।
शुभकामना सन्देशमा भनिएको छ, “तमुल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”























