रवि, बालेन र कुलमानलाई जुटाउने सुधन र सुमनाको ‘मास्टरप्लान’: रास्वपा र उज्यालो नेपालबीच ऐतिहासिक एकता


काठमाडौँ, पुष १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीचको ऐतिहासिक एकतासँगै नेपाली राजनीतिले नयाँ मोड लिएको छ।
नेपाली राजनीतिमा एउटा अप्रत्याशित तर शक्तिशाली मोड आएको छ। वैकल्पिक राजनीतिको केन्द्रमा रहेका तीन प्रमुख अनुहारहरू— रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ अब एउटै साझा लक्ष्यका लागि एउटै मोर्चामा उभिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच सोमबार औपचारिक एकता भएको छ।
यस एकतालाई सम्भव तुल्याउन जेन्जी अगुवा सुधन गुरुङ र नेतृ एवं पूर्व मन्त्री सुमना श्रेष्ठले तयार पारेको ‘मास्टरप्लान‘ निर्णायक बनेको दाबी गरिन्छ ।
सुधन गुरुङ: सडक र युवा शक्तिको ‘ब्रिज‘
यो एकताको जग बसाल्न जेन्जी पुस्ताका ढुकढुकी मानिने सुधन गुरुङले ‘पर्दा बाहिर‘ बाट कमान्ड सम्हालेका थिय । लामो समयदेखि भ्रष्टाचार विरोधी आन्दोलन र युवाहरूको आवाजलाई सडकबाट बुलन्द गर्दै आएका गुरुङले बालेन शाह रवि लामिछाने , कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेले ।सुधनको सक्रियताकै कारण सडकमा देखिएको युवाहरूको उर्जा आज राजनीतिक रूपान्तरणको एउटै गोलबद्ध भएको छ।
सुमना श्रेष्ठ: नीति र वार्ताको ‘मास्टरप्लान‘
पर्दा बाहिर सुधन गुरुङले माहोल बनाउँदा ‘पर्दा भित्र‘ भने पूर्व मन्त्री सुमना श्रेष्ठले यसको नीतिगत र प्राविधिक खाका तयार परेको दाबी गरिन्छ । उज्यालो नेपाल पार्टीका मुख्य सचिव पार्टीका नेता’ क्षितिज भण्डारीका अनुसार, सुमना श्रेष्ठलेनै कुलमान घिसिङ संरक्षक रहेको पार्टीसँग हप्तौँसम्म गोप्य वार्ता र संवाद गरेर यो एकतालाई तार्किक निष्कर्षमा पुर्याउनुभएको हो। मेरिटोक्रेसी (योग्यताप्रणाली) लाई पार्टीको मुख्य आधार बनाउने र विज्ञहरूलाई नेतृत्वमा ल्याउने श्रेष्ठको योजनाले नै यो मिलन सम्भव भएको हो।
रास्वपाका केन्द्रीय सचिवालय सदस्य एवं सभापति रवि लामिछानेका विश्वासपात्र नेता दीपक बोहराले यो एकतासँगै रास्वपा अब देशकै पहिलो राजनीतिक शक्ति बन्ने दावी गरे । बोहराले भने “रवि, बालेन र कुलमानको यो त्रिकोणात्मक मिलनले नेपाली राजनीतिमा पुराना दलहरूको सिन्डिकेट तोडिएको छ। अबको नेतृत्व रास्वपाले गर्नेछ।”
त्यस्तै, उज्यालो नेपाल पार्टीका मुख्य सचिव क्षितिज भण्डारीले सुमना श्रेष्ठको योगदानको प्रशंसा गर्दै भने , “रवि, कुलमान र बालेनलाई एकै ठाउँमा ल्याउन सुमनाजीले जुन वैचारिक र कुटनीतिक मिहिनेत गर्नुभयो, त्यसैको परिणाम आज हामी एक भएका हौँ।”
सहमति पत्रका ७ बुँदा र अबको दिशा
सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै दुवै दल अब ‘राष्ट्रिय स्वतन्त्र पार्टी‘ कै नाम र ‘घण्टी‘ चुनाव चिन्हमा अगाडि बढ्ने भएका छन्। एकीकृत पार्टीको उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र डा. स्वर्णिम वाग्ले रहने गरी संरचना तयार पारिएको छ।
बालेन शाहले साक्षीका रूपमा हस्ताक्षर गरेको यो एकताले ” निर्वाचन मिसन ” का लागि एउटा मजबुत जग तयार पारेको छ। भ्रष्टाचार मुक्त प्रशासन, मध्यम-आय भएको मुलुक बनाउने १० वर्षे लक्ष्य र जेन्जी आन्दोलनको मर्मलाई यो नयाँ शक्तिले आफ्नो मुख्य मार्गचित्र बनाएको छ।























