काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताका लागि सहमति भएको छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाललाई समावेशी, सहभागितामूलक, न्यायपूर्ण र समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा सुदृढ बनाउने साझा लक्ष्यसहित दुवै पार्टीबीच एकतासम्बन्धी सहमति–पत्रमा हस्ताक्षर गरिएको हो। सहमति–पत्रमा विविधतामा एकता नेपालको राष्ट्रिय विशेषता भएको उल्लेख गर्दै ऐतिहासिक विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, थारू आन्दोलन, मधेश विद्रोहलगायत आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप सुदृढ बनाउने प्रतिबद्धता जनाइएको छ। साथै युवाहरूको आन्दोलनशीलता, वैचारिक दृढता र राजनीतिक परिवर्तनप्रतिको आकांक्षालाई सही दिशामा अगाडि बढाउन पार्टी एकता आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
सहमति अनुसार दुवै पार्टीबीच एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ भने निर्वाचन चिन्हसमेत सोही पार्टीअन्तर्गत रहने उल्लेख छ। संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य रहने व्यवस्था गरिएको छ । सहमति–पत्रमा राज्यका विभिन्न निकायमा विगतमा भएका कमजोरी, भ्रष्टाचार, असमानता र सामाजिक अन्यायको समीक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। मुलुकको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र स्थापना पार्टीको दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा उल्लेख गरिएको छ।
त्यसैगरी, नेपालको भौगोलिक बनोटअनुसार संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता, समानुपातिक समावेशी प्रतिनिधित्व र समतामूलक विकासलाई पार्टीको कार्यक्रमका रूपमा अघि बढाइने जनाइएको छ। वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र सांस्कृतिक विभेद अन्त्य गर्दै सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित रहने सहमति भएको छ। सहमति–पत्रमा पार्टीलाई सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र सशक्त संगठनात्मक संरचनाका आधारमा सञ्चालन गरिने उल्लेख छ। नागरिक उन्मुक्ति पार्टीको हालको संगठनात्मक संरचनामा रहेका केन्द्रीय समिति लगायत सबै समिति र जनवर्गीय संगठनहरू आपसी सहमतिका आधारमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गरिनेछ।
नेपालको वर्तमान संविधानको संरक्षण र सुदृढीकरण गर्दै आवश्यक परिमार्जन र संशोधनमार्फत समावेशी, न्यायपूर्ण र अग्रगामी शासन व्यवस्था निर्माणका लागि पहल गरिने उल्लेख गरिएको छ। साथै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पछाडि पारिएका महिला, थारू, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्ग र समुदायको राज्यसत्तामा समान पहुँच सुनिश्चित गर्न संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ। देशका श्रमिक वर्ग र उत्पीडित समुदायको एकतामा जोड दिँदै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्यसमेत सहमति–पत्रमा उल्लेख गरिएको छ।
विगतका राजनीतिक घटनाक्रमका क्रममा कुनै व्यक्तिमाथि प्रतिशोधका आधारमा लगाइएका मुद्दा फिर्ता लिने तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने सहमति पनि भएको छ। नीति, सिद्धान्त र विचारसँग सहमत सम्पूर्ण राजनीतिक दल, शक्ति र व्यक्तिहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन पनि आह्वान गरिएको छ। सहमति–पत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका संयोजक पूर्णकमल दहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।
सहमति पत्र:
![नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता [पत्रसहित] 1767015694 Sahamati](https://images.nagariknewscdn.com/2025/third-party/1767015694_Sahamati.jpg)

























