ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण, रात्रिकालीन सवारी व्यवस्थापनमा सहज हुने


काठमाडौँ । काठमाडौँ उपत्यकाको रात्रिकालीन सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ। लायन्स क्लब अफ काठमाडौँ थलीले खरिद गरेको उक्त लाइट सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो।
यस्तै, लायन्स क्लब अफ थलीका अध्यक्ष रुपक सिमखडाले सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन यो पहल गरिएको र आगामी दिनमा पनि यस्ता सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।
उपत्यका ट्राफिक प्रहरी प्रमुख अधिकारीले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयका भवन, उपकरण र प्रहरीका पोसाकसमेत जलेर ठुलो क्षति पुगेको जानकारी दिए। आन्दोलनले पुर्याएको भौतिक क्षतिका कारण व्यवस्थापनमा समस्या परिरहेको बेला नागरिक स्तरबाट भइरहेको सहयोग र पुनर्निर्माणका प्रयासले उत्साह थपेको उनले बताए। “पाँच मिनेट मात्रै ट्राफिक नहुँदा चोकको अवस्था कस्तो होला भन्ने हामी सहजै अनुमान गर्न सक्छौँ,” अधिकारीले भने, “यो म्याजिक लाइटले सवारी व्यवस्थापनमा नयाँ आशा जगाएको छ।”























