होटल सङ्घद्वारा फेवा संरक्षणका लागि मन्त्री घिसिङको ध्यानाकर्षण


गण्डकी, पुस १४। होटल सङ्घ पोखरा नेपालले फेवा तालको संरक्षणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री घिसिङलाई छबुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सङ्घले ताल संरक्षणका लागि उचित बजेट विनियोजनको माग गरेको हो ।
यसको संरक्षण गर्न सर्वोच्च अदालतको फैसलाबमोजिम स्थानीय सरकारद्वारा सीमाङ्कन समेत भइसकेको अवस्थामा आवश्यक बजेट विनियोजन नभएका कारण अन्य कार्य अगाडि बढ्न नसकेको हुँदा आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरी फेवातालको संरक्षण र संवद्र्धनमा विशेष भूमिका निर्वाहका लागि सङ्घले आग्रह गरेको छ ।
जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानहरूलाई पुनरुत्थानका लागि उचित राहतको व्यवस्थापन गरिनुपर्ने बुँदा पनि ध्यानाकर्षणपत्रमा उल्लेख छ । चालु बजेटमा पर्यटन उद्योगलाई पनि अन्य उद्योग सरहको सुविधा दिइनेछ भनी सम्बोधन भएता पनि हालसम्म पनि कार्यान्वयन हुन नसकेको सङ्घले जनाएको छ ।
पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति कार्यमा ढिलाइ भएको हुँदा तोकिएको समयमा काम पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिइनुपर्ने आवश्यकता औँल्याउँदै सङ्घले पोखरालाई भारतीय बोर्डरसम्म सिधा जोड्न ‘फाष्ट ट्र्याक’ निर्माणको योजना अगाडि सार्न आग्रह गरेको छ ।























