मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
कोल्टीमा अफलाईनबाट राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने बाध्यता हट्दै


बाजुरा, पुष १४ । बाजुरा जिल्लाको कुण्डा क्षेत्रका नागरिकहरूले लामो समयदेखि भोग्दै आएको सास्तीको अन्त्य भएको छ । यसअघि राष्ट्रिय परिचयपत्र बनाउनका लागि मार्तडी जानुपर्ने बाध्यता रहेकामा अब उक्त सेवा कोल्टीबाटै हुने भएको हो । अबदेखि अनलाइन प्रणालीमार्फत कोल्टीमै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था सुरु हुने भएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराले बताउनुभयो ।
यससँगै अफलाइन प्रक्रियाबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने बाध्यता पनि हटेको छ । नागरिकहरूले आफ्नै स्थानीय क्षेत्रमा सहज, छिटो र सरल रूपमा सेवा प्राप्त गर्न सक्ने भएका छन् । जसले समय, खर्च र झन्झट सबैमा उल्लेखनीय कमी ल्याउनेछ । नगरप्रमुख बोहराको अनुसार देशभरका स्थानीय तहहरूमध्ये बुढिनन्दा नगरपालिका राष्ट्रिय परिचयपत्र सेवाका लागि आवश्यक उपकरण राउटर उपलब्ध हुने पहिलो नगरपालिका बनेको हो ।























