समाचार

तेस्रो लुम्बिनी न्युज फेस्टिभल सुरु

नवलपुर टुडे
२०८२ पुस १४ | बिहान ०६:०९ बजे

रुपन्देही । मोफसलको पत्रकारितालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो लुम्बिनी न्युज फेस्टिभल सुरु भएको छ ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलले पत्रकारिता, पर्यटन, लगानी र नेपाल–भारत सीमापार सम्बन्धका मुद्दामा गम्भीर बहस सुरु गरेको छ । २०७६ र २०८० सालपछि तेस्रो पटक आयोजना गरिएको न्युज फेस्टिभलमा नेपाल र भारतका वरिष्ठ पत्रकार, सम्पादक, सञ्चार अध्येता, नीति निर्मातालगायतको उल्लेखनीय सहभागिता छ ।

भारतबाट मात्र ४० भन्दा बढी पत्रकारको सहभागिता रहेको फेस्टिभलमा काठमाडौंबाट आधा दर्जन अग्रज पत्रकार पनि सहभागी छन् । भारतका सिक्किम, नयाँ दिल्ली, लखनऊ, अयोध्या, काशी, गोरखपुर र महाराजगन्जबाट स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चारकर्मी लुम्बिनी आएका छन् ।

फेस्टिभलको उद्घाटन सत्रमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक र तथ्यमा आधारित समाचारले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने बताएका छन् । नकारात्मक र अपुष्ट समाचारले सम्बन्ध कमजोर हुन सक्ने भन्दै उनले पत्रकारिताको जिम्मेवारी अझ बढेको उल्लेख गरे । मुख्यमन्त्री आचार्यले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक तहमा मात्र सीमित नभई सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक तहमा समेत गहिरो रहेको बताए ।

यस्तो सम्बन्धलाई सुदृढ बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले मोफसल पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस आजको आवश्यकता भएको धारणा राखे । नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए ।

उनले लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा न्युज फेस्टिभलका बहसले नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।

 
 

कमेन्टहरु