समाचार

भृकुटीमण्डपमा ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सुरु

नवलपुर टुडे
२०८२ पुस १४ | बिहान ०५:०९ बजे

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सुरु भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा सञ्चालित यस मेलाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री घिसिङले ‘जे गर्छौं, नेपालमै गर्छौं’ भन्ने नाराले स्वदेशमै अवसरहरू छन् भन्ने सकारात्मक सन्देश प्रवाह गरेको बताए। निर्माण क्षेत्रको नेपालकै सबैभन्दा ठूलो मानिएको यस मेलाले आधुनिक प्रविधिको प्रयोगमार्फत निर्माण व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ । भव्य अवलोकन र आर्थिक अपेक्षा मेलाको पहिलो दिनमै उत्साहजनक सहभागिता देखिएको छ । आयोजकका अनुसार पहिलो दिन १५ हजारभन्दा बढी दर्शकले मेलाको अवलोकन गरिसकेका छन् ।

आगामी मंगलबारसम्म चल्ने यस फेस्टमा जम्मा ४० हजार दर्शक भित्रिने र करिब २ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । प्रदर्शनीमा राखिएको विश्वकै ठूलो इँटा र अन्य अत्याधुनिक निर्माण सामग्रीहरू दर्शकका लागि मुख्य आकर्षण बनेका छन् । व्यवसायीका चुनौती र समाधानको प्रयास नेपालमा निर्माण र व्यावसायिक गतिविधि बढे पनि धेरै ब्रान्डहरूले आफ्नो उत्पादनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न र ग्राहकसँग सम्बन्ध स्थापित गर्न चुनौती भोगिरहेका छन् । सोही समस्यालाई सम्बोधन गर्न यो मेला आयोजना गरिएको हो ।

मेलामा विज्ञहरूको मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया र ब्रान्डिङ परामर्शको व्यवस्था गरिएको छ, जसले व्यवसायीहरूलाई आफ्ना उत्पादन लक्षित ग्राहकसम्म व्यवस्थित र आकर्षक रूपमा पुर्‍याउन सहयोग गर्नेछ । मुख्य आकर्षणहरू यसपटकको फेस्टमा परम्परागत निर्माणभन्दा फरक र आधुनिक शैलीका संरचनाहरूलाई प्राथमिकता दिइएको छ । विशेषगरी प्रदर्शनीमा राखिएको ‘उल्टो घर’ (Upside Down House), ‘डोम हाउस’ र सस्तो मूल्यको ‘६ लाखको घर’ ले अवलोकनकर्ताहरूको विशेष ध्यान खिचेका छन् ।

यी नवीन संरचनाहरूले नेपालमा किफायती र आधुनिक आवासको अवधारणालाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

कमेन्टहरु