नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल (RABBEA) को १२औँ केन्द्रीय महाधिवेशन ‘पेशागत हक, हित र संस्थाको संवर्द्धन’ गर्ने संकल्पका साथ बाँकेको नेपालगन्जमा भव्यताका साथ सम्पन्न भएको छ । नेपालभरबाट ८०० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको उक्त महाधिवेशनले रवीन्द्रप्रसाद चौलागाईंको नेतृत्वमा नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नयाँ नेतृत्व र कार्यसमिति
महाधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि ४१ सदस्यीय शक्तिशाली केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो ।जसमा अध्यक्ष पदमा रवीन्द्रप्रसाद चौलागाईं, वरिष्ठ उपाध्यक्षमा कविराज बराल र महासचिवमा ऋषिराम ज्ञवाली सर्वसम्मत चयन भएका छन् ।
नयाँ नेतृत्वले आम कर्मचारीको मनोबल उच्च राख्दै साझा एजेन्डामा एकताबद्ध भएर बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक विशेष समारोहबीच महाधिवेशनको विधिवत् उद्घाटन गरेका थिए ।
विज्ञप्तिअनुसार, यो महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यम मात्र नभई संस्थाको हित र प्रगतिको लागि संघले बोकेको सङ्कल्पको विजय हो ।
नव-निर्वाचित महासचिव ऋषिराम ज्ञवाली र अध्यक्ष रवीन्द्रप्रसाद चौलागाईंले जारी गरेको प्रेस विज्ञप्तिमा कर्मचारीहरूले संघप्रति देखाएको ठूलो विश्वास र भरोसालाई आत्मसात् गर्दै सबै समस्याको कुशलतापूर्वक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

























