विजयनगरमा बुद्ध साना किसान कृषि सहकारी संस्थाकाे चाैथाैँ साधारण सभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ प्रेमनगरमा अवस्थित बुद्ध साना किसान कृषि सहकारी संस्थाकाे चाैथाैँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।आइतबार गाउँपालिकाकाे सभाहल खडैचामा बुद्ध साना किसान कृषि सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ काे साधारण सभा गरेकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले सहकारीलाई व्यापक बनाउनुपर्ने बताएका छन् । सहकारीलाई अझै बलियो र प्रभावकारी बनाउनका लागि सहकारीमा शेयर सदस्य बढाउनुुपर्नेमा जाेड दिए । सहकारीमा आबद्ध भएपछि उद्यम-व्यवसायमा महत्त्वपूर्ण टेवा पुग्ने गरेको उनले बताए । अध्यक्ष थापाले आर्थिक पाटाेलाई मजबुत बनाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझावसमेत दिए । यसैगरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सहकारीमै बचत गरी आवश्यक कारोबार गर्नुपर्नेमा जोड दिइन् ।
उनले सहकारीले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने भएकाले स्थानीयस्तरमै व्यापार-व्यवसाय विस्तार गर्न सहयोग पुग्ने बताइन् । सहकारीमार्फत उत्पादन, रोजगारी र आत्मनिर्भरता बढाउन सकिने उपाध्यक्ष चाैधरीले उल्लेख गरिन् । यस्तै बुद्ध साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष थर्क बहादुर खन्गाहाले सहकारीलाई अझै व्यवस्थित बनाउँदै शेयर सदस्यहरु थप्ने कामसमेत भइरहेको बताउँदै गत वर्ष भन्दा १ लाख १२ हजार रुपैयाँ बढी नाफामा रहेकाे बताए ।
उनले साधारण सभामा ५४ लाख ४४ हजार ८ सय ६८ रुपैयाँकाे आयव्यय प्रस्तुत गरिएको जानकारी दिए । मल अभावलाई मध्यनजर गर्दै सहकारीले मल प्राप्तिका लागि आवश्यक प्रक्रियालाई अगाडी बढाई सकेकाे उनलेे बताए । साधारण सभामा सहकारीकी लक्ष्मी पाण्डेले प्रगति प्रतिवेदन र गाेमा खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा र विभिन्न सहकारीमा आबद्ध चुडामणि पाेख्रेल, शिवराज सुबेदी, प्रमिला पाैडेलले सम्बाेधन गरेका थिए । अरुणा देवी विश्वकर्माकाे स्वागत मन्तव्य र गाेकर्ण प्रसाद सापकोटाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हाे । यसै सहकारीकाे साधारण सभाकाे अवसरमा सहकारीमा आबद्ध ३ जना जेष्ठ नागरिकलाई सम्मानसमेत गरिएको बुद्ध साना किसान कृषि सहकारी संस्थाले जनाएको छ ।























