अमेरिकामा भीषण हिम आँधी


अमेरीका, पुस १३ । अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको हिम आँधी डेभिनले गर्दा शनिबार ९ हजारभन्दा बढी घरेलु उडानहरू रद्द वा ढिलाइ भएका छन्। आँधीले क्रिसमसपछिको बिदाको यात्रालाई पूर्ण रूपमा अवरुद्ध पारेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।आँधीले न्यूयोर्क र न्यू जर्सीलाई राज्य आपतकाल घोषणा गर्न बाध्य पारेको थियो। शुक्रबारदेखि शनिबारसम्म अमेरिकामा एक हजार ७ सयभन्दा बढी उडानहरू रद्द गरिए भने ९ हजार २ सय ढिलाइ भएका छन्। शुक्रबार मात्रै एक हजार ८ सय उडानहरू रद्द भएका थिए।
हिमपात र चिसो वर्षाले केही क्षेत्रहरूको अवस्था थप बिग्रियो। राष्ट्रिय मौसम सेवाले हिउँदे आँधीको चेतावनी जारी गरेको छ, जसमा चिप्लो सडक, कम दृश्यता (भिजिबिलिटी) र बिजुली अवरुद्ध हुने चेतावनी दिइएको थियो।
न्यूयोर्कका गभर्नर क्याथी होचुलले आधाभन्दा बढी राज्यमा आपतकालीन अवस्था घोषणा गर्दै भनेका छन्, ‘न्यूयोर्कवासीहरूको सुरक्षा मेरो सर्वोच्च प्राथमिकता हो। कृपया यस आँधीबेहरीको समयमा अत्यधिक सावधानी अपनाउनुहोस्।’























