राष्ट्रिय स्तरको ‘ अनलाइन वक्तृत्वकला प्रतियोगिता ’ को अनलाइन अडिसन शुरु


निराज रानाभाट
नवलपुर । ‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण तथा ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका -१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको ‘ अनलाइन वक्तृत्वकला प्रतियोगिता ’ को अनलाइन अडिसन शुरु भएको छ, भने प्रतियोगिताको सम्पन्न माघ ४ गते, आइतबार गरिने भएको छ ।
नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘ अनलाइन वक्तृत्वकला प्रतियोगिता ’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ ।
यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक समिर लामिछानेले भने, ‘युवा पुस्तामा विशाल सम्भावना छ, तर अभिव्यक्ति कमजोर हुँदा उनीहरूको क्षमता दबिन्छ । यो कार्यक्रमले उनीहरूको आवाज, प्रभाव र आत्मविश्वासको ढोका खोल्ने छ ।’
उक्त वक्तृत्वकला प्रतियोगितामा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ ।
सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको १५ देखि २९ वर्षका युवाहरूमा नेतृत्व, संचार सीप र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको यो कार्यक्रम युवा – मैत्री अभिव्यक्ति प्लेटफर्मका रूपमा अघि सारिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्दारा मूल्यांकन हुने छ । ‘ अबको नेपालमा GEN-Z को भूमिका ’ भन्ने विषयमा भिडियो बनाउनु पर्ने छ, भने भिडियोको अवधि ३ मिनेटको हुनुपर्ने छ ।
त्यस्तै, उक्त कार्यक्रममा सहभागिताको लागि नेपाली युवा हुनु पर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ । ‘अनलाइन वक्तृत्वकला प्रतियोगिता ’ मा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, कदर – पत्र र मेडल, दोस्रो हुनेलाई २० हजार रुपैयाँ, कदर – पत्र र मेडल तथा तेस्रो हुने लाई १० हजार रुपैयाँ, कदर – पत्र र मेडलद्वारा पुरस्कृत गरिने छ ।
उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । देशभरका युवाहरूलाई यस अभियानमा जोडिन आयोजकले आग्रह गरेको छ । उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट तथा ह्याप्पी एफ.एम. र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् ।
त्यसैगरी, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहल: लुम्बिनी प्रदेश, युवा अभियान नेपाल, सामुदायिक विकास फाउण्डेशन नेपाल, मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. (कावासोती, नवलपुर), अन्तर्राष्ट्रिय शिक्षा साझेदारको रूपमा लेड्रा कलेज, शिक्षा साझेदारको रूपमा लर्ड बुद्ध एकेडेमी अफ स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्ट, परामर्श साझेदारको रूपमा निप्पोन एजुकेशनल सेन्टर र फार्मेसी साझेदारको रूपमा एसियन फार्मेसी रहेका छन् ।
राष्ट्रिय स्तरको ‘ अनलाइन वक्तृत्वकला प्रतियोगिता ’ को नियम र भिडियो बनाउदा ध्यान दिनु पर्ने कुराहरु ;
१. भिडियो ( Landscape ) मा हुनु पर्ने छ र भिडियो गुणस्तर: न्यूनतम (720p) बनाउनु पर्ने छ ।
२. भिडियो पठाउँदा गूगल लिंक ( https://saralnepal.com/public-speaking/ ) मा प्रदान गरिएको फर्म भरि पठाउनु पर्ने छ ।
३. भिडियो बनाउँदा अनिवार्य नेपाली भाषाको प्रयोग गर्नु पर्ने छ ।
४. कार्यक्रममा १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी हुन सक्ने छन् ।
५. प्रतिस्पर्धीहरुले अनिवार्य रुपमा आफ्नो वास्तविक नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्नुपर्ने छ ।
६. प्रत्येक सहभागीहरुले आयोजक संस्थाद्वारा तोकिएको समयसीमा भित्र भिडियो पठाउनु पर्ने छ ।
७. पहिलो चरण :
पहिलो चरणमा प्राप्त भएका सम्पूर्ण भिडियोलाई मूल्यांकन गरी निर्णायक मण्डलले उत्कृष्ट २० जना छनोट गर्ने छन् ।
८. दोश्रो चरण :
दोश्रो चरणमा आयोजकले पहिलो चरणमा उत्कृष्ट २० जना सहभागीलाई छुट्टै भिडियो बनाउनका लागि विषयवस्तु प्रदान गर्ने छ र सहभागीहरुले तोकिए अनुसारको ३ मिनेटको भिडियो बनाई आयोजकलाई पठाउनु पर्ने छ । सहभागीहरुले आयोजकको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भएको भिडियोलाई नै सेयर गर्नुपर्ने छ । अन्य माध्यमबाट सेयर गरिएको भिडियोलाई मूल्यांकनको आधार मानिने छैन ।
९. दोश्रो चरणको मूल्यांकनको आधार :
* भिडियोले सामाजिक संजालमा प्राप्त गरेको लोकप्रीयताको मूल्यांकन – ५०%
* निर्णायक मण्डलको निर्णय अनुसारको मूल्यांकन – ५०%
माथिको मूल्यांकनको आधारमा उत्कृष्ट ३ जना सहभागीहरु छनोट गरिने छ ।
१०. तेस्रो चरण :
तेस्रो चरणमा उत्कृष्ट छनोट भएका ३ जना प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिने छ एवं छनोट भएकाहरुलाई कार्यक्रमको औपचारिक समापन समारोहमा बोलाई पुरस्कृत गरिने छ ।
११. भिडियोमा कुनै पनि अर्थमा अश्लील, घृणा फैलाउने, जातीय / धार्मिक रुपमा द्वेष सृजना गर्ने प्रवृत्तिको भएमा स्विकार गरिने छैन ।
१२. कसैको कुनै पनि संवेदनशील पक्षलाई आघात पुग्ने किसिमका अभिव्यक्तिहरुलाई कडाइका साथ निषेध गरिने छ ।























