झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार


झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ ।आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए ।
आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
मेचीनगर–४ मा आश्रमको आफ्नै भवन रहेको छ । स्थानीय समाजसेवी रामबहादुर प्रधानको परिवारले दान दिनुभएको दुई बिघा पाँच कट्ठा जग्गामा आश्रम सञ्चालन रहेको छ ।उद्धार गरिएकामध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन गराइएको र हाल झापा शाखामा ७२ जना आश्रित संरक्षणमा रहेको संयोजक विश्वकर्माले जानकारी दिए ।























