खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास


काठमाडौँ । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।
उक्त यो ढुङ्गेधारा लिच्छवीकालीन हो । महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत रहेका सङ्गत भन्छन्, “प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्नसक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत बृहत् ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।”
निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने, “विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र नौदेखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।”पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै सङ्गत भन्छन् “यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इन्जिनियरिङिको जीवन्त दशी हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।”























