शिक्षा

नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित

रासस
२०८२ पुस १२ | बिहान ०६:०९ बजे

दाङ। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको ठुलो परिमाणको जग्गा अतिक्रमणमा परेको पाइएको छ । विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३७ बिघा जग्गामध्ये ४०८ बिघा जग्गामा मोही रहेको तथ्य फेला परेको विश्वविद्यालयका कूलसचिब माधव अधिकारीले जानकारी दिए ।

कूलसचिब अधिकारीका अनुसार लमही नगरपालिका–सतबरियामा अतिक्रमित १६८ बिघा जग्गामध्ये ८३ बिघा जग्गामा मोही रहेको छ । त्यसैगरी राजपुर गाउँपालिकाको गङ्दी र दूलैयामा रहेको एक हजार १३२ बिघा जग्गामध्ये ३०६ बिघा जग्गामा मोही रहेको पाइएको छ । गढवा गाउँपालिकाको गोबरहियामा रहेको ३६ बिघा जग्गामध्ये १८ बिघा जग्गामा पनि मोही लगिएको छ ।

केही मोहीको नाम नामेसी फरक देखिएकाले मालपोत कार्यालयको श्रेष्ताअनुसार मिलान गर्नुपर्ने आवश्यकता रहेको अधिकारीले बताए । साथै केही मोही बेपत्ता भएको भनाइसमेत रहेकाले जग्गाधनी प्रमाण पुर्जामा उल्लेख भएको मोही र क्षेत्रफल फरक पर्न सक्ने अवस्था रहेको उनको भनाइ छ ।

विसं २०६९ मङ्सिरमा तयार पारिएको देउखुरी जग्गा व्यवस्थापनसम्बन्धी प्रतिवेदनमा लालपुर्जामा नाम भएका तर मोही लगतमा नरहेका तथा अधिकांश मोही जग्गा छाडेर अन्यत्र गएको उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा मोहीको नामावली र क्षेत्रफलसमेत समावेश गरिएको थियो ।

देउखुरी क्षेत्रको विश्वविद्यालयको सबै जग्गा हाल अतिक्रमणमा परेको बताइएको छ । विश्वविद्यालय सञ्चालनका लागि दाताले सहयोग स्वरूप दिएको उक्त जग्गाबाट २०५८ सालसम्म आयस्तासमेत आउने गरेको थियो । त्यस समयमा देउखुरीमा गोदाम घरसमेत रहेका थिए । तर हाल ती जग्गाबाट कुनै आयस्ता प्राप्त हुने गरेको छैन ।

हाल देउखुरीमा १२ बिघा, गढवामा आठ बिघा र सतबरियामा चार बिघा जग्गा ‘तेरो–मेरो’ विवादका कारण विश्वविद्यालयको नाममा दर्ता हुन सकेका छैनन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा रहेको ३२६ बिघा जग्गामा मोही नभए पनि करिब २० बिघा जग्गा अतिक्रमणमा परेको छ ।

कुलसचिब अधिकारीका अनुसार मोही परेका किसानलाई कानुनअनुसार जग्गा दिएपछि पनि करिब ८०० बिघा जग्गा विश्वविद्यालयकै स्वामित्वमा रहनेछ । ती जग्गा लिजमा दिन सके विश्वविद्यालयको आम्दानी बढ्ने उनको भनाइ छ ।

इतिहासअनुसार देउखुरीको उक्त जग्गा २०१० सालमा मजगैयाँ परिवारले उच्च शिक्षाको प्रवर्द्धनका लागि दान गरेका थिए । दान गरिएका १२ खण्डमध्ये एक खण्डबाट महादेवा मन्दिरको पूजा–आजाको व्यवस्था गरिएको थियो भने बाँकी ११ खण्डको आयस्ताबाट विद्यालय सञ्चालन हुँदै आएको थियो । तत्कालीन अवस्थामा जनता विद्यालय र सूदय रामेश्वर महादेवजीको नाममा जग्गा दान गरिएको थियो । २०२८ सालमा नाप–नक्सा भई २०४५ सालमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा नामसारी गरिएको हो ।

त्यस्तै विसं २०२७ मा विश्वविद्यालय रहेको बेलझुण्डी क्षेत्रका साबिक विजौरी र मानपुर गाविसमा ३४१ बिघा जग्गा दाताबाट प्राप्त भएको थियो । हाल मोही परेको जग्गा बाँडफाँटका लागि सरकारले यसै वर्षको चैत मसान्तसम्म निवेदन दिन सूचना जारी गरेको छ । प्राप्त निवेदनका आधारमा २०८३ साल असार मसान्तसम्म टुङ्गो लगाइने जनाएको छ ।

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउने विषयमा पटक–पटक छलफल र बहस भए पनि ठोस परिणाम आउन सकेको छैन । जग्गा तथा सम्पत्ति खोजबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको नेतृत्वमा गठित समितिले नौ महिनाको अध्ययनपछि प्रतिवेदन तयार पारेको थियो ।

कमेन्टहरु