प्रबास

२१ दिनमा १ हजार करोड नाघ्यो ‘धुरन्धर’ को कलेक्सन

एजेन्सी
२०८२ पुस ११ | मध्यान्ह ०४:०९ बजे

नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंहको ‘धुरन्धर’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । फिल्मले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । फिल्म १ हजार करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले २१ दिनमा यो आँकडा पार गरेको हो ।धुरन्धरले २१ दिनमा १ हजार करोडको आँकडा पार गरेको फिल्मका निर्माताहरूले भनेका छन् । निर्माताहरूका अनुसार २१ दिनमा  फिल्मको कुल विश्वव्यापी कलेक्सन १००६ करोड ७० लाख भारु पुगेको छ । फिल्मले पहिलो हप्तामा २१८ करोड कमाएको थियो । दोस्रो हप्तामा यसको कमाई २६१ करोड ५० लाखमा उक्लियो । 

फिल्मले १५ देखि २० दिनको बिचमा अर्को १६० करोड ७० लाख कमाएको छ । क्रिसमसको दिनमा मात्रै यसले २८ करोड ६० लाख भारु कमायो । भारतमा फिल्मको कुल कलेक्सन ६६८ करोड ८० लाख भारु पुगेको छ ।

 

१ हजार करोड क्लबमा सामेल हुने चौथो बलिउड फिल्म

 

धुरन्धरको लागि यो एउटा महत्त्वपूर्ण उपलब्धि हो । फिल्म १ हजार करोड क्लबमा सामेल हुने चौथो हिन्दी फिल्म बनेको छ । यसअघि तीन बलिउड फिल्महरू दङ्गल, पठान र जवानले मात्रै यो सफलता हात पारेका थिए ।

जापानमा रिलिज हुन लागेकोले एनिमल चाँडै नै यो सूचीमा सामेल हुने अपेक्षा गरिएको  छ । अहिलेसम्म एनिमलको विश्वव्यापी कलेक्सन ९१५ करोड भारु छ ।

आदित्य धरद्वारा निर्देशित

आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ जासुसी थ्रिलर फिल्म हो । फिल्म सत्य घटनाहरूबाट प्रेरित रहेको छ । फिल्ममा रणवीर सिंहसँगै अक्षय खन्ना, आर माधवन, अर्जुन रामपाल, सञ्जय दत्त, सारा अर्जुन र राकेश बेदी पनि मुख्य भूमिकामा छन् । 

कमेन्टहरु