सप्तरीमा ट्याङ्करको ठक्करबाट बाराकी एक वृद्धाको मृत्यु


सप्तरी । सप्तरीमा ट्याङ्करको ठक्करबाट बाराकी एक जना वृद्धाको ज्यान गएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिंदा बाराको कोतबाल गाउँपालिका ३ निवासी ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करले गम्भीर घाइते भएकी उनलाई उपचारका लागि युनिक अस्पताल रायपुर पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
गिरी गाउँका व्यक्तिसहित सुनसरीको चतराबाट दर्शन गरी ना ४ ख २८०० नम्बरको बसमा फर्किदा कठौनामा शनिबार राति ८ बजे खाजा खान रोकिएको थियो । बस रोकिएपछि ओर्लेर बाटो काट्ने क्रममा ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाटै चालकलाई ट्याङ्करसहित प्रहरीले नियन्त्रणमा लिइएको छ ।






















