विश्व

अमेरिकाले गर्‍यो नाइजेरियामा हवाई हमला, ट्रम्प भन्छन् : ‘शक्तिशाली र घातक’ आक्रमण

एजेन्सी
२०८२ पुस ११ | बिहान १०:०९ बजे

अमेरिकाले क्रिसमसको दिन नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा इस्लामिक स्टेट (आईएसआईएस) का लडाकूमाथि हवाई आक्रमण गरेको छ।राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा यो घोषणा गर्दै आक्रमणलाई ‘शक्तिशाली र घातक’ भनेका छन्। ट्रम्पका अनुसार आईएसआईएसले मुख्य रूपमा निर्दोष क्रिश्चियनहरूलाई लक्षित गरी हत्या गर्दै आएको थियो।

ट्रम्पले लेखेका छन्, ‘आज रात मेरो निर्देशनमा कमान्डर इन चिफको हैसियतले अमेरिकाले उत्तरपश्चिम नाइजेरियामा आईएसआईएस आतंककारी फोहोरमाथि शक्तिशाली र घातक आक्रमण गरेको छ, जसले निर्दोष क्रिश्चियनहरूलाई लक्षित गरी निर्ममतापूर्वक हत्या गर्दै आएको थियो।’

अमेरिकी अफ्रिका कमान्डका अनुसार सोकोटो राज्यमा नाइजेरियाली अधिकारीहरूसँग समन्वयमा गरिएको यो आक्रमणमा धेरै आईएसआईएस लडाकू मारिएका छन्। युद्ध सचिव पिट हेग्सेथले यो कारबाहीको पुष्टि गर्दै नाइजेरियाली सरकारलाई सहयोगका लागि धन्यवाद दिएका छन्। उनले थप आक्रमण हुन सक्ने संकेत पनि गरेका छन्।

नाइजेरिया सरकारले यो आक्रमणलाई दुई देशबीचको सुरक्षा सहयोगको हिस्सा भनेको छ। यद्यपि सरकार र मानव अधिकार संस्थाहरूका अनुसार नाइजेरियामा हुने हिंसा केवल धार्मिक नभई जातीय, भूमि विवाद र अन्य कारणले पनि हुने गरेको छ। क्रिश्चियन र मुस्लिम दुवै हिंसाको शिकार बन्ने गरेका छन्।बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका जस्ता समूहहरू लामो समयदेखि नाइजेरियामा सक्रिय छन्, जसले हजारौंको ज्यान लिएका छन्। नाइजेरियाको जनसङ्ख्या क्रिश्चियन र मुस्लिममा लगभग बराबर विभाजित छ।

कमेन्टहरु