समाज

तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ८ को छनौट कार्यक्रम सम्पन्न

नवलपुर टुडे
२०८२ पुस १० | मध्यान्ह ०७:०९ बजे

गोठवा, तिलोत्तमा–८, पौष १० । शुभयात्रानेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ८ को छनौट कार्यक्रम आज (बिहीबार) सम्पन्न भयो । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउने अभियान अन्तर्गत यो कार्यक्रम भएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले बताउनुभयो ।

तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडानम्बर ८ का कार्यबाहक वडाध्यक्ष कमलकान्त गौतमले आफ्ना वडाका समस्यार सम्भावनाबारे नयाँ पुस्ताको दृष्टिकोण बुझ्न पाउने कार्यक्रमका लागि आभार व्यक्त गर्नुभयो ।

शुभयात्रा नेपाल गोठवा समितिका संयोजक भिमा अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताउनुभयो । उहाँले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिनुभयो ।

कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता प्रशिक्षण समेत दिनुभएको थियो । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात सबै सहभागीलाई पृष्ठपोषण समेत दिइएको निर्णायक मण्डलका सदस्य केशव न्यौपानेले जानकारी दिनुभयो ।

प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै शान्ति नमूना मा.वि.का अनुश्री शर्मा नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्नुभएको छ । प्रतियोगितामा दोस्रो हुने मणिमुकुन्द मा.वि.का कृष्ण खरेल र तेस्रो हुने नवज्योति इङ्लिस बोर्डिङ् स्कृलका सुजल खरेल पुरस्कृत हुनुभएको निर्णायक मण्डलका सदस्य दुर्गादेवी लामिछानेले जानकारी दिनुभयो ।

सीता पाण्डेको स्वागतमा भएको कार्यक्रममा वडा सदस्य कमला पराजुली, निर्णायक मण्डलका संयोजक स्थानेश्वर बस्याल, टोल सञ्जाल वडानम्बर ८ का संयोजक गोपाल भण्डारी, मिलन टोल विकाश संस्थाका अध्यक्ष रमाकान्त भुसाल, प्रदिपनगर टोल विकाश संस्थाका अध्यक्ष गोमा रिजाल लगायतले विद्यार्थीमा असल नेतृत्व विकाशका लागि कार्यक्रम उत्कृष्ट भएको बताउनुभयो ।

शुभयात्रा नेपाल गोठवा समितिका सचिव कृष्णप्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा मेसोपोटामिया विश्वविद्यालयका अतिथि प्राध्यापक युवराज कंडेल, संस्थाका आजीवन सदस्य रामप्रसाद अर्याल, कल्याण बाल सञ्जालका अध्यक्ष क्षितिज ढकाल, दिपज्योति टोल विकाश संस्थाका अध्यक्ष ओमप्रकाश खनाल, नव ज्योतिआमा समूहका अध्यक्ष ईश्वरी न्यौपाने, दिपआमा समूहका अध्यक्ष कमला भण्डारी, मिलन टोलका उपाध्यक्ष परशुराम काफ्ले, पूर्व अध्यक्ष हरिप्रसाद बस्याल लगायतको उपस्थिति रहेको थियो ।

फागुन ७ गते हुने अन्तिम प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ९ को कार्यक्रमपुस १० गते वडा कार्यालय केवलानीमा सञ्चालन गरिने करहिया समितिका संयोजक दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कमेन्टहरु