निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी


काठमाडौँ, पुस ९ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक हुने बताउनुभएको छ ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको बन्दसूची पेस गर्दा जात, भाषा, वर्ग र भूगोल सबैलाई प्रतिनिधित्व हुने गरी त्रुटिरहित रुपमा गर्न आग्रह गर्दै जारी हुने निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि पनि स्मरण गराउनुभयो । उहाँले दलहरुलाई निषेधको राजनीति नगरी सबैलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन प्रचारप्रसारको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनमा गौँडो बाटो छेक्ने काम कसैले गर्नुहुँदैन । मतदाताबीच मीठो मसिनो रुपमा प्रस्तुत हुनुहोला । निर्वाचन आयोग त रेफ्री मात्रै हो, निर्वाचनका खेलाडी त राजनीतिक दलहरु नै हुन् ।”
आयोगका आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सुगुनशमशेर जबरा तथा सचिव कृष्णबहादुर राउत, प्रवक्ता नारायणप्रसाद भट्टराईलगायत उपस्थित कार्यक्रममा मङ्गलबार र बुधबार गरी सामानुपातिक प्रणालीतर्फ निर्वाचनमा भाग लिन निवेदन दिएका ९३ दलका दुई÷दुई प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । सहभागीलाई निर्धारित प्रतिशतमा समावेशीताका आधारमा उम्मेदवार सिफारिस गर्दा अपनाउनुपर्ने विधि र पद्धतिका सम्बन्धमा कानुन तथा तथ्याङ्कसम्बन्धी विज्ञले प्रशिक्षण दिनुभएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२ जारी गरेपछि २०७८ सालको जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा दलहरुले बन्दसूचीको समावेशीता कायम गरी सूची पेस गर्नुपर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्याका आधारमा उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएकाले आयोग सोको पूर्ण तयारीमा रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।























