तनहुँको धार्मिक पर्यटकीयस्थल थानीमाईमा पूर्वाधार निर्माण गरियो


दमौली (तनहुँ), पुस ९ । जिल्लाको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर आउने भक्तजनको सहजताका लागि भवन र ट्रस निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र मन्दिर व्यवस्थापन समितिको आन्तरिक कोषबाट भक्तजनको सहजताका लागि यहाँ भवन र ट्रस निर्माण गरिएको हो ।
समितिका अध्यक्ष थापाले भन्नुभयो, “मङ्गलबार फूलको डोली चढाउने र त्यसको अघिल्लो रात सोमबार यहाँ जाग्राम बसेर बत्ती बाल्ने प्रचलन छ । रातिको समयमा बस्न सहज होस् भनेर ट्रस हालेका छौँ । अब एकैपटक २०० भन्दा बढी भक्तजनले यहाँ बसेर बत्ती बाल्न सक्नेछन् ।”आठ कोठे भवनको छ वटा कोठामा समितिको निर्णयअनुसार सहुलियत दरमा रातिका लागि वा अन्य समयमा बास बस्न चाहनेलाई उपलब्ध गराइने थापाले जानकारी दिनुभयो ।
मन्दिरमा प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने परम्पर छ । “ती महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ”, समितिका अध्यक्ष थापाले भन्नुभयो ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको हो ।























