बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु


धरान (सुनसरी), पुस ९ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा (इएचएस ) सेवाका बिरामीका लागि दुई घण्टाभित्र तथा बाह्य तथा भर्ना ( ओपिडी तथा आइपिडी ) सेवाका बिरामीका लागि तीन घण्टाभित्र उक्त सेवा उपलब्ध गराइनेछ ।
उक्त प्रयोजनका लागि हाल सञ्चालनमा रहेका आपतकालीन ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी ‘केन्द्रीय प्रयोगशाला यही पुस ५ गतेदेखि सञ्चालन सुरु गरिएको प्रधानले जानकारी दिनुभयो ।
यसअघि आपतकालीन ल्याबबाट सीमित प्रकारका परीक्षण मात्र उपलब्ध हुँदै आएको थियो । नयाँ व्यवस्थाले रुटिन ल्याब र आपतकालीन ल्याबमा छुट्टाछुट्टै नमुना पठाउनुपर्ने दोहोरो प्रक्रिया अन्त्य हुनेछ । साथै वार्ड राउन्डका क्रममा बिरामीको प्रयोगशाला परीक्षण रिपोर्ट समयमै र सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको प्रवक्ता प्रधानको भनाइ छ ।
प्रयोगशाला नमुना सङ्कलन आपतकालीन, आइपिडी तथा इएचएस (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि चौबिसै घण्टा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ ।






















