कतारमा ५ लाखभन्दा बढी कतारी रियाल लिएर नेपाली सुनचाँदी पसल सञ्चालक फरार


दोहा , कतार । कतारमा गहना बनाइदिने भन्दै ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई जना नेपाली सुनचाँदी पसल सञ्चालक नै फरार भएका छ्न। कतारको गोल्ड सुक क्षेत्रमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका रौतहट जिल्ला जिंगडवा–९ का मो मोजाज आलम र मोहम्मद रैनले करिब ५० जना नेपाली श्रमिकहरुलाई ठगी फरार भएको आरोप लागेका हुन।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार पीडितहरू संघको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो। संघले नेपाली दूतावास कतार तथा कतारका सम्बन्धित ठगी तथा अपराधसम्बन्धी निकायसँग समन्वय गर्दै सहजीकरण गरिरहेको उनले बताए। गहना अर्डर धेरै भएकाले समय लाग्ने भन्दै सञ्चालकहरूले लामो समयसम्म आलटाल गर्दै आएको पीडितहरूको भनाइ छ । पछि पसल नै बन्द भएपछि आफूहरू ठगिएको थाहा पाएको उनीहरूले बताएका छन् ।
पीडितहरूका अनुसार गहना बनाइदिने भन्दै अग्रिम रकम लिएर गहना नदिई पसल सञ्चालक सम्पर्कविहीन भएका हुन।ठगीको रकम पाँच लाखभन्दा बढी कतारी रियाल रहेको बताइएको छ । आफूहरू ठगिएको थाहा पाए लगत्तै कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गराइएको पीडितले जानकारी दिए । उजुरीअनुसार फरार भएका पसल संचालक मोजाज आलम र मोहम्मद रैन करिब सात वर्षदेखि साझेदारीमा व्यवसाय सञ्चालन गर्दै आएको पीडितहरूले बताएका छन् । हाल कतार प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।























