बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै


काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो ।
प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा रु ३५ लाख लगानी गरी थप संरचना निर्माण गरिएको थियो । हाल गाउँपालिकाको रु १० लाख बजेटबाट पुनर्निर्माण थालिएको कार्यालयका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार पोखरी तथा भत्किएका संरचना निर्माण गरी पहिलेकै अवस्थामा ल्याउन थालिएको हो । यो झरनामा बाढीपहीरोले क्षति पुर्याए पनि पर्यटकको आकर्षण देखिएकाले चालु आर्थिक वर्षमा बजेट छुट्याएर पुनर्निर्माण गर्न थालेका हौँ ।
उक्त झरनामा यतिखेर पनि आन्तरिक पर्यटक दैनिक बढिरहेको वडाध्यक्ष तिमल्सिना बताउछन् । उनका अनुसार उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकाल बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम–फाइमराङ बीचको उक्त झरनामा बर्सेनि पर्यटक बढिरहेको बताइन्छ । यसअघि झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेराबार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेराबार निर्माण गरिएको थियो ।
महाभारत पर्वत शृङ्खलाको जङ्गल–मुहान रहेको चिसो पानी बग्ने झरना तीन तला भई बगेका कारण नै तीनतले झरना नामकरण गरिएको हो । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आर्कषण बनेको थियो । झरना अवलोकन तथा केही दिन बिताउन चाहनेहरू काभ्रेपलाञ्चोककै बनेपा, धुलिखेल र पनौतीलगायत काठमाडौँ उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटक आउने गरेको तिमल्सिनाले बताए। झरनासम्म पुगेर खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सबैखाले पर्यटक लालायित हुने गरेको देखिन्छ ।
हाल तीनतले झरना जानेका लागि झरना नपुग्दै स्थलबाट केही वर होटल–लजको पनि व्यवस्था गरिएको छ । झरनाको अवलोकन, पौडीका साथै बाहिरी जिल्लाबाट आउनेहरूले स्थानीय मौलिक खानाको चासो राख्ने गरेकोसमेत स्थानीयको भनाइ छ । स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । झरनासम्म पुग्न क्षेत्रअनुसार फरकफरक मार्गको प्रयोग गर्न सकिन्छ ।
काभ्रेको पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडकयात्रा गर्नुपर्ने हुन्छ । जुन सडकको पनौती–ढुर्खक करिब १३ किलोमिटर सडक ग्राभेल तथा पक्की छभने त्यसपछि १२ किलोमिटर सडक उकालो–ओरालोमा गाडी तथा मोटरसाइकलमा यात्रा गर्न खासै कठिनाइ भने छैन । विशेषगरी लालीगुराँस फुल्ने मौसममा उक्त क्षेत्रले नयाँ यात्रुहरूलाई मोहनी नै लगाउने गर्छ ।
त्यसैगरी, झरना पुग्ने अर्को सडक ललितपुर जिल्लाबाट पनि छ । ललितपुरको दक्षिणी क्षेत्र गोट्टीखेलबाट चन्दनपुर, कालेश्वर हुँदै करिब १० किलोमिटर ओरालो यात्रापछि च्याम्राङ्गबेँसी पुगिन्छ । यो मार्ग पनि चन्दनपुरसम्मको पक्की सडक तथा त्यसपछिको कच्ची भएपछि बाटो खासै कठिन भने छैन । त्यसैगरी हिउँदको समयमा पनि बागमती प्रदेशको राजधानी हेटौँडासम्म पुग्ने बेथानचोक–फापरबारी सडक पनि यहीँ झरना नजिकबाटै पर्छ । पहाडी मनोरम दृश्यका साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा, कञ्चन र सङ्लो पानीले भरिएको पोखरीमा पौडीको मज्जा लिनेहरूको भीड नै झरनाको पहिचान बन्दै गएको छ ।























