जेनजी अगुवा ढुङ्गानाको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन घोषणा


काठमाडौँ, पुस ६ । जेनजी अगुवा मिराज ढुङ्गानाको समूहले जेनजीको माग, मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेण्डासहित आन्दोलनको घोषणा गरेको छ ।सो समूहले आज यहाँ पत्रकार सम्मेलन गरी युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ ।
सो अवसरमा जेनजी अगुवा ढुङ्गानाले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासनका पक्षमा भएको गत आन्दोलनको मर्म र भावनाबमोजिम परिणाम आउन नसकेकाले आफूहरू पुनःसडकमा आउन बाध्य भएको बताउनुभयो ।
उहाँले राज्यको पुनःसंरचना, राजनीतिक स्थिरता, निष्पक्ष न्याय र संविधान पुनर्लेखनसहित संवैधानिक सुधार, पक्राउ परेका जेनजी अभियन्ताको तत्काल रिहाइ र आन्दोलनका क्रममा युवाको हत्यामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्ने माग गर्नुभयो ।
सो समूहले आन्दोलनका घाइतेलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था, सहिद परिवारको सम्मान, रोजगारी र सुरक्षासहितको स्थायी व्यवस्था, सबै तह र निकायमा भएका भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन गर्न, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न, उखुकिसान र सहकारीपीडितलाई न्याय दिन तथा जेनजी आन्दोलनका क्रममा उठाइएका मागमुद्दालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।























