इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान


पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन् । उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट सङ्केत दिएका छन् ।
इमरान खानले अदालतको फैसलाले आफूलाई आश्चर्यचकित नगरेको बताउँदै यसलाई विगत तीन वर्षयता आइरहेका ‘आधारहीन निर्णयहरूको निरन्तरता’ भएको दाबी गरेका छन् । उनका अनुसार न्यायाधीशले प्रमाण बिना र कानूनी प्रक्रिया पूरा नगरी हतारमा फैसला सुनाउनुभएको हो र उनको कानूनी टोलीको कुरा समेत नसुन्ने व्यवहार गरिएको छ । यसै सन्दर्भमा उनले इन्साफ वकिल फोरम तथा समग्र कानूनी समुदायले संवैधानिक सर्वोच्चता र विधिको शासनको रक्षामा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। न्यायबिना आर्थिक प्रगति सम्भव नहुने उनको धारणा छ ।
तोसाखाना–२ मुद्दामा सजाय सुनाइएपछि देशभर सार्वजनिक बहस चर्किएको छ र न्यायिक प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठेका छन् । एएनआईसँग कुराकानी गर्दै लाहोर र पेशावरका बासिन्दा तथा पत्रकारहरूले यस फैसलामा राजनीतिक प्रेरणा र प्रमाणको कमी रहेको टिप्पणी गरेका छन् । लाहोर निवासी हमिद रियाज डोगरले न्यायपालिकाप्रति जनविश्वास घट्दै गएको बताउँदै हालैका अन्य फैसलाहरू पनि विवादित भएको उल्लेख गरे ।
यो मुद्दा साउदी क्राउन प्रिन्सबाट प्राप्त करिब सात करोड १० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यको बुल्गारी गहना सेटको अवमूल्यनसँग सम्बन्धित रहेको छ । इमरान खान र बुशरा बिबीलाई आपराधिक विश्वासघात र भ्रष्टाचारसम्बन्धी धाराअन्तर्गत दोषी ठहर गरिएको हो ।
लाहोरका अर्का बासिन्दा जाकी उल्ला मुजाहिदले यस फैसलाले लोकतान्त्रिक संस्था र न्याय प्रणालीप्रतिको जनविश्वास थप कमजोर बनाएको भन्दै संविधान र कानूनी सीमाभित्र रहेर मात्रै राज्य सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे ।
























