समाज

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

रासस
२०८२ पुस ६ | बिहान ११:०९ बजे

काठमाडौँ, पुस ६ । दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग |अलग दुई कार्यक्रम आयोजना गरेकोे छ ।

नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ विषयमा विशेष प्रवचन,योगाभ्यास एवं ध्यान गराउनुभएको थियो ।

प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा सो कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतका आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार गर्न सहयोग पुगेको जनाइएको छ । ‘विश्वव्यापी शान्ति र सद्भावको लागि ध्यान’ कार्यक्रममा गुरु भानुले आधुनिक विश्वका चुनौतीहरूको सामना गर्न प्रत्येक मानवको मन स्थिर हुनुपर्ने स्पष्ट पार्दै त्यसका लागि ध्यान गर्न आह्वान गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउन थाल्नु वैश्विक चेतनाको ऐतिहासिक क्षण भएको जनाउँदै उहाँले परम्परागत कूटनीति र नीति निर्माणसँगै अब आन्तरिक जागरण, ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको पूर्वाधारका रूपमा स्वीकार गरिएकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ध्यानको अभ्यासले मात्र विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्छ । शान्ति र द्वन्द्व समाधानमा आन्तरिक रूपान्तरणको अपरिहार्यता हुन्छ । बुद्ध भूमि नेपाललाई पूर्वीय ज्ञान र आधुनिक विज्ञानको सेतुका रूपमा प्रस्तुत गर्नुपर्दछ । ध्यानको प्रायोगिक रूपान्तरण, नेपालद्वारा विश्वलाई जागरणको आह्वान र मानसिक स्वास्थ्यलाई वैश्विक पूर्वाधारका रूपमा विकास गरिनुपर्छ । ”

कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, एण्डोरा र मेक्सिकोका संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिले ध्यान दिवसको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा एलपी भानु शर्मासँगै भारतका रवि शङ्करलगायत विभिन्न देशका गुरु समेत प्रस्तुति थियो ।

यस्तै संयुक्त राष्ट्रसङ्घको मुख्यालयमै विभिन्न समुदायका लागि नेपालले आयोजना गरेको ‘जागृत मनः शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ कार्यक्रममा सहभागीलाई गुरु रमेश नेपालले ध्यानका महत्वका बारेमा विशेष प्रवचन दिनुहुँदै सहभागीलाई ध्यान तथा योगाभ्यास गराउनुभएको थियो । सो अवसरमा उहाँले ध्यानले शरीरमा रहेको शक्ति जगाउने र सक्रिय गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “ध्यानले मनलाई शान्ति र सकारात्मकता दिन्छ । जीवनी शक्ति सबल बनाउने ध्यानको उद्देश्य हो । ”

उहाँले ध्यानको अभ्यासलाई मानिसको दैनिक जीवनसँग जोड्नसके संसारबाट अशान्ति, कलह र तनावको अन्त्य हुने जनाउँदै ध्यानलाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गुरु भानुले ध्यानका विभिन्न आयामको चर्चा गर्दै व्यक्तिभित्रका सम्भावना जगाउन शरीरका ऊर्जा केन्द्रहरू चिन्ने र सक्रिय गराउने स्वजागरण अभियान विश्वभर प्रयोग गर्नुपर्ने बताउनुभयो । यसका लागि नेपालका तर्फबाट जीवन विज्ञानले स्वजागरण अभियान सुरु गरेको जानकारी दिनुभयो ।

सो कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अटुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी गुरुमालगायत विभिन्न देश र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ ।

जीवन विज्ञानका सचिव किरण रुपाखेतीद्वारा जारी विज्ञप्तिमा यस कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार हुने उल्लेख छ । साथै यसबाट परापूर्वकालदेखि प्रयोग र अभ्यास हुँदै आएका अध्यात्म, आयुर्वेद र प्राकृतिक चिकित्साबाट विश्वले लाभ लिन सक्ने जनाइएको छ । 

कमेन्टहरु