रुपन्देहीमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाउने तयारी


बुटवल । रुपन्देहीमा रहेका गुरुङ समुदायले विविध कार्यक्रमसहित यस वर्षको तमु ल्होसार मनाउने तयारी गरेका छन् । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिवार पत्रकार सम्मेलन गरी हरेक वर्ष जस्तै यसवर्ष पनि पुस १५ मा मनाउने तमु ल्होसार मनाउने जानकारी गराएको हो । परिषदले ल्होसारका अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ ।
परिषद्का रुपन्देही अध्यक्ष रामबहादुर गुरुङले ल्होसारको अवसरमा यही पुस १५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको बताए । अध्यक्ष गुरुङका अनुसार पुस ११ गते जिल्लाका सबै नगर तथा इकाइहरुमा सरसफाई कार्यक्रम आयोजना हुँदैछ भने १३ गते साँझ जिल्लाभर (दिप प्रज्वलन) दिपावली, १२, १३ र १५ गते महिला कबड्डी प्रतियोगिता, १४ गते खुल्ला झाम्रे प्रतियोगिता, क्यालेन्डर प्रकाशन तथा १५ गते ल्होसारको मूल समारोह आयोजना गरिएको छ ।
“तमु ल्होसार तमु जातीको लागि अस्तित्व जगेर्ना र मौलिक पहिचान, पुस्तान्तरणसहितको समुन्नत साँस्कृतिक सभ्यताको विकास हाम्रो अभियान“ भन्ने मूल नारासहित आयोजना गर्न गईरहेको यसवर्षको ल्होसारले सबै जात–जाति तथा समुदायमा एकता र भाइचारा स्थापित गर्न सघाउ पुर्याउने अध्यक्ष गुरुङले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
रुपन्देहीमा रहेका विभिन्न ३५ वटा इकाइमा विभिन्न कार्यक्रम गरिनुका साथै पुस १४ गते सबै इकाइ तथा नगरको सहभागितामा साँस्कृतिक झाँकिसहितको वृहत शान्ति र्याली निकालिने र उक्त र्यालीमा उत्कृष्ट हुने झाँकीलाई १० हजार पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । खुल्ला झाम्रे प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई ३ हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै मादल बजाउने, नृत्य र गायनमा समेत उत्कृष्ट हुने एकएक जनालाई जनही १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा बोल्दै परिषद्का केन्द्रीय सल्लाहकार भिम गुरुङले बिगतका वर्षहरुमा गुरुङ समुदायका बीचमा मात्र आयोजना हुँदै आएको ल्होसारलाई सबै समुदाय तथा जातजातीको सामूहिक पर्वको रुपमा स्थापित गर्न यसवर्ष अन्य जातजाती तथा समुदायका व्यक्तिहरुलाई पनि अतिथिको रुपमा आमन्त्रित गरिएको बताए । सल्लाहकार गुरुङका अनुसार यसवर्ष ’सप्री ल्हो’लाई विदाई तथा त ल्होको स्वागत गर्दै ल्होसार पर्व मनाईनेछ । हरेक वर्ष पुस १५ मा मनाउने ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ल्होले वर्ग अथवा वर्ष र सारले नयां भन्ने बुझाउंँछ । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरुले नयां वर्ष र जातीय पर्वका रुपमा मनाउंँछन् ।
परिषद्का सचिव शेरजंग तमुले ल्होसारका अवसरमा आयोजना गरिने कार्यक्रमहरुलाई भव्यरुपमा सफल बनाइने बताए ।






















