बैतडीमा मिनि ट्रक र अटो एकआपसमा ठोक्किँदा चार घाइते


दशरथचन्द (बैतडी), पुस ५ ।बैतडीमा मिनि ट्रक र अटो एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ वर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० वर्षीया गीताकुमारी खड्का, सोही ठाउँकी ३७ वर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोटका ३८ वर्षीय केशवराज जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
दुवै सवारीसाधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ । घुम्तीमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । घाइतेको अवस्था सामान्य रहेको र चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना हुँदा अटो सडकबाट करिब ५ मिटर तल खसेको छ ।






















