गोली प्रहारबाट घाइते बिरेन्द्र महतोलाई हेल्प मधेसीद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग


शियाराम यादव
मधेस । गोली प्रहारबाट गम्भीर घाइते भएका महतो परोपकारी संस्था हेल्प मधेसी कतार DLP दलानका पूर्वअध्यक्ष बिरेन्द्र कुमार महतोलाई हेल्प मधेसी कतारले रु. २ लाख ५१ हजार नगद आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
संस्थाका पूर्वअध्यक्ष रामकल्याण महतो तथा वर्तमान अध्यक्ष रमेश यादवको पहलमा उक्त सहयोग प्रदान गरिएको हो। सहयोग रकममध्ये कतार केन्द्रबाट रु. १ लाख तथा DLP दलानबाट रु. १ लाख ५१ हजार संकलन गरिएको संस्थाले जनाएको छ।
बिरेन्द्र महतो केही हप्ता अघि आफ्नो जन्मभूमि सिरहा जिल्ला कल्याणपुर नगरपालिका–१२, बेल्हा कट्टी गाउँमा रहँदा घटेको एक आपराधिक घटनामा उहाँ र उहाँका छोरा अनिल कुमार महतो गोली प्रहारबाट गम्भीर रूपमा घाइते हुनुभएको थियो।
गत मंसिर २ गते गाउँमा चोरी–डकैती गर्न खोजिरहेका डकैतहरूको समूहलाई स्थानीयवासीहरूले प्रतिकार गर्ने क्रममा डकैत समूहका एक व्यक्तिलाई समात्ने प्रयास भइरहँदा पहिचान खुल्ने डरले ज्यानै लिने नियतका साथ गोली प्रहार गरिएको बताइएको छ। सोही क्रममा भएको गोली प्रहारबाट महतो र उहाँका छोरा अनिल कुमार महतो गम्भीर (शिकिस्त) घाइते भएका हुन्।
पीडित पक्षका अनुसार घटनापछि हालसम्म न त दोषीमाथि राज्यबाट कारबाही भएको छ न त कुनै प्रकारको सरकारी आर्थिक सहयोग नै प्राप्त भएको छ।
हेल्प मधेसी कतार DLP दलानका पूर्वअध्यक्षसमेत रहनु भएका महतोको सुरक्षा, उपचार तथा सहयोग गर्नु संस्थाको सामूहिक दायित्व भएको ठहर गर्दै उक्त निर्णय लिइएको जनाइएको छ।
सहयोग कार्यक्रममा हेल्प मधेसी कतारका कोषाध्यक्ष सन्तोष शाह, संस्थापक प्रभात महतो, वडा अध्यक्ष दिलिप यादव, नेपालका पूर्व अध्यक्ष राम उदगार यादव, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य तथा पूर्व उपाध्यक्ष शिवकुमार महतो, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सदस्य शियाराम यादवलगायत पत्रकार, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत सहयोग प्रदान गर्ने सम्पूर्ण दाताहरू तथा DLP दलानका सेवकहरू कल्याण, रमेश, मनोज, लक्ष्मण र भागरथप्रति महतो परोपकारी संस्था हेल्प मधेसी कतारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।






















