गायनबाट अभिनयतर्फ समीर


काठमाडौँ, पुस ४। युवापुस्ता माझ आफ्ना सङ्गीत र गायनका कारण चर्चामा रहनुभएका समीर श्रेष्ठले अभिनय यात्राको सुरुआत गर्नुभएको छ ।आफ्ना गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गर्नुभएका गायक श्रेष्ठले चलचित्र ‘रमिताको पिरती’मार्फत अभिनय यात्राको सुरुआत गर्दै हुनहुन्छ । कलाकारितामा इच्छा भएकाले नै अभिनयमा आफू आएको गायक श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेकी थिएन् । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”
श्रेष्ठले अभिनेता बने पनि गायन र सङ्गीतलाई नछाड्ने बताउनुभयो । “मेरो पहिचान गायनले दिएकाले त्यसलाई छाड्ने वा रोक्ने भन्ने नै छैन । मेरो सक्रियता अभिनयमा पनि हुन्छ, तर गायन मेरो मुख्य पेसा हो । मलाई गायनमा झैँ अभिनयमा पनि माया गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु”, गायक श्रेष्ठले भन्नुभयो ।
सुदिप्ताले निर्देशन गर्नुभएको उक्त चलचित्रमा गायक श्रेष्ठसँगै आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पार्नुभएको हो भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गर्नुभएको छ ।
पछिल्लो समय निर्माण भइरहेका भन्दा फरक विषय र प्रस्तुतिकरण भएकाले नयाँ पुस्तालाई यो चलचित्रले आकर्षण गर्ने वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ अनुहारलाई लिएर तयार गरिएकाले पनि यो चलचित्र युवापुस्ताका लागि नयाँपन दिने बन्नसक्छ । यसको विषय र प्रस्तुतिकरणले विशेषतः युवापुस्तालाई चलचित्र भवनसम्म ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।”उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।






















