जापानले दिएको एस्ट्राजेनेका खोपको काठमाडौं आइपुग्यो

जगत ठाडा मगर
२०७८ साउन २३ | बिहान १०:०४ बजे

काठमाडौ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।
एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। आज ३ लाखभन्दा बढी डोज खोप आएको छ। बाँकी करिब ५ लाख डोज भोलि आइपुग्ने बताइएको छ।
जापान सरकारले सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा (८ लाख डोज) शनिबार र आइतबार आइपुग्ने भएको हो। बाँकी ८ लाख खोप भने कहिले आउँछ भन्ने विषयमा खुलाइएको छैन।
सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाकै खोप दिने निर्णय गरिसकेको छ। फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको हो।






















