देश

सुदूरपश्चिममा पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सीसीटिभी क्यामेरा जडान

जगत ठाडा मगर
२०७८ साउन २३ | बिहान १०:०४ बजे

धनगढी । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सीसीटिभी क्यामेरा जडान गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत १ करोड ५१ लाखको लागतमा सीसीटिभी क्यामेरा जडान गरिएको हो । आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पुर्‍याउन सीसीटिभी क्यामेरा जडान गरिएको हो ।

मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार सडकका संवेदनशील क्षेत्रको पहिचान गरी १३८ सीसीटिभी क्यामेरा जडान गरिएको हो । जडान गरिएका सीसीटिभी क्यामेरामा पीटीजेड (घुम्ने) सात वटा र अन्य १२० क्यामेरा जडान गरिएका छन् । राजमार्ग क्षेत्रको धेरै व्यक्ति जमघट हुने, चौराह, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा सीसीटिभी क्यामेरा जडानको कार्य गरिएको प्रवक्ता जोशीले बताए । क्यामेरा जडानका लागि १०८ दशमलव ५६ किलोमिटर क्षेत्रमा केबुल बिछ्याइएको छ । सीसीटिभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ वटा स्टेसन राखिएको छ ।

‘क्यामेरा जडानको कार्य पूरा भएको छ,’ मन्त्रालयका प्रवक्ता जोशीले भने, ‘नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् आपूर्तिका लागि सम्झौताको कार्य भइरहेको छ ।’

क्यामेरा जडानपश्चात् परीक्षणको कार्य भइरहेको उनले बताए । सीसीटिभी क्यामेराको सहयोगले मानवीय सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा एवं अपराध नियन्त्रणसँगै शान्ति सुरक्षा कायम गर्नका लागि मद्दत पुर्‍याउने भएको छ । रासस

कमेन्टहरु