ओलीसँग लत्रेर र झुकेर एकता हुँदैन : माधब नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग लत्रेर, झुकेर र अपमानपूर्वक ढंगले एकता हुन नसक्ने प्रष्ट पारेका छन् ।
आफू पक्षीय केन्द्रीय कमिटीको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू एकताविरोधी नभएको र सम्मानजनक एकताका लागि आफू सधैं तयार रहे पनि अध्यक्ष ओलीले नै एकताको वातावरण बिगार्दै गएकाले अपमानजक एकता नहुने प्रष्ट पारेका हुन् ।
नेता नेपालले अहिलेसम्म एकताका लागि भएका छलफल, राजनीतिक घटनाक्रम र आफ्नो अडानबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउँदै केही विषयमा सहमति भएपनि केही विषय अझै मिल्न बाँकी रहेको बताएका थिए । बैठकमा नरम रुपमा प्रस्तुत भएका नेता नेपालले नेपालको कम्युनिस्ट आन्दोलन इतिहासमै सबैभन्दा संकटकमा रहेको र एमाले केन्द्रदेखि वडातहसम्म विभाजित भएको अवस्थामा पुगेको बताएका थिए ।
उनले एमाले एकताका लागि निर्णायक ढंगले प्रयत्नहरु गनुपर्ने भन्दै विघटित कार्यदलका नेताहरुलाई पनि एकता छिटो टुंगो लगाउन भनेको बताएका थिए ।
नेता नेपालको आशय ओलीसँग झुकेर, लत्रेर र अपमानपूर्वक एकता गर्न नसकिने रहेको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । ‘ओलीसँग झुकेर, लत्रेर र अपमानपुर्वक एकता गर्नुको अर्थ छैन भन्ने नै नेता नेपालको सम्बोधनकोे सार थियो र वास्तविकता पनि त्यही हो’, ती नेताको भनाइ छ ।
माधव समूहका नेता तथा एमाले कार्यदलका संयोजकसमेत रहेका भीम रावलले कार्यदलमा भएको छलफल र १० बुँदे सहमतिबारे बैठकमा विस्तृतमा जानकारी गराएका थिए । रावलले १० बुँदे सहमति नै एकताको आधारबिन्दु हुन सक्ने भन्दै त्यसैका आधारमा अघि बढ्न सकिने दाबीसमेत गरेका थिए ।
बैठकमा धारणा राख्ने अधिकाँश केन्द्रीय सदस्यहरूले पनि सम्मानजनक एकतामा जोड दिएको दिएको केन्द्रीय सदस्य निरज आचार्यले बताए । ‘मिश्रित धारणा आएका छन् । धेरैले सम्मनजनक एकता भन्नुभएको छ भने केहीले अध्यक्ष केपी ओली पक्षले एकलौटी निर्णय गरेकाले आफूहरूले पनि कमिटी निर्माण गरेर जानुपर्छ भन्ने सुझाब दिनुभएको छ’, आचार्यको भनाइ छ ।
शुक्रबार सकिएको माधव समूहको बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । यसका लागि केपी ओली पक्षले साउनन २४ गते आइतबार बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गर्नुपर्ने, सदस्यता नवीरकण अभियान रोक्नुपर्ने र वडा तथा गाउँ अधिवेशनका साथै विधान अधिवशेन पनि रोक्नुपर्ने माधव नेपाल पक्षले माग गरेको छ ।
त्यसैगरी बैठकले संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । १० बुँदे सहमतिपछि कार्यदलले एकताको पहल गरिरहेको भन्दै यसवीचमा एकअर्कामाथि गालीगलौचको भाषा प्रयोग नगर्न माधव समूहको बैठकले माग गरेको छ ।






















