काठमाडौँ । ‘जनआस्था’ साप्ताहिकका प्रधानसम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठलाई यस वर्षको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ। दिवंगत पत्रकार गौतमको जन्मजयन्ती (फेब्रुअरी १३) मा यो पुरस्कार हस्तान्तरण गरिनेछ। नेपाली पत्रकारितामा साधना र दीर्घकालीन योगदानको कदरस्वरुप श्रेष्ठलाई उक्त पुरस्कार दिइने भएको हो।
गौतम करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष थिए। पुरस्कार स्व गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा स्मृति दिवसमा दिइन्थ्यो। यस वर्षदेखि जन्मदिवसमा दिन थालिएको हो। सम्मानपत्रसहित पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
त्यस्तै, करेन्ट पब्लिकेशनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका प्राविधिक हरिबहादुर थापा मगरलाई पनि ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार– २०२६’ प्रदान गरिने भएको छ, जसको राशि ५० हजार रहेको छ।

























