नक्कली डिएसपी बनेर विदेशबाट ल्याएको सुनका बाला लुटेको आरोपमा युवक पक्राउ


काठमाडौं । नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने एक जना युवक पक्राउ परेका छन् ।
विदेशबाट फर्किनेहरूको साथबाट` डिएसपी हुँ ´भनेर सुनका बाला लुटपाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ्गलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिनुभयो ।
सीतारामले आफ्ना सहयोगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएर विदेशबाट फर्किनेहरूको पिछा गर्न लगाउँथे । पछिल्लो समय विदेशबाट फर्किनेहरू धेरैले ५० ग्राम तौल बराबरको सुनको बाला लिएर आउँछन् । त्यस्ता बाला धेरैजसो खाडी मुलुकमा बसेर सुनको काम गर्नेहरुले पठाउँछन् ।
विदेशबाट आउनेहरूले आफ्नै लागि पनि ल्याएका हुन्छन् । सुन बोकेर आउनेहरुलाई सहयोगीले पिछा गरेपछि सीताराम गुरुङ्गले उनीहरु चढ्ने ट्याक्सीलाई बिच बाटोमा रोकेर ‘डिएसपी हुँ’ भनेर चेकजाँच गर्ने गरेका थिए ।
सहयोगीलाई हवल्दार र असईको भुमिका दिएर चेकजाँच गरेपछि उनको समूह सुन लिएर भाग्ने गरेको अनुसन्धानबाट खुलेको एसपी बस्नेतले बताए ।रासस






















