समाचार

विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनी र बिक्री गर्दै सकियो ग्रीनल्याण्डको पिबिएल मेला

नवलपुर टुडे
२०८२ मंसिर २९ | मध्यान्ह ०७:०८ बजे

चितवन । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा तेस्रो पिबिएल मेला सम्पन्न भएको छ । एक सातासम्म चलेको मेला आज सम्पन्न भएको हो । भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा आज मेला समापन भएको हो ।

आज मेलाको मुख्य दिन रहेको थियो । मेलामा विद्यार्थीहरुले आफूले तयार पारेका बस्तुहरु प्रदर्शनीमा राख्नुका साथै बिक्री गरेका थिए । मेलामा विद्यार्थीहरुले तयार पारेका कलाकृतिहरु प्रदर्शनीमा राखिएको थियो ।

यस्तै उनीहरुले तयार पारेका खाजाका विभिन्न परिकारहरु अभिभावक तथा शिक्षक र अन्य पाहुनाहरुलाई बिक्री गरेका थिए । स्कुलको कक्षा ७ मा अध्ययनरत साहारा मल्ल र सदाम आलमको टिमले साबुन, फिनायललगायतका सामग्री तयार परेका थिए । स्कुलमा हुने यस्ता कार्यक्रमले सिप सिक्न सहयोग पुगेको उनीहरुको भनाइ थियो ।

कक्षा ५ मा अध्ययनरत छात्रा अपेक्षा दाहाल र उनको समूहले विभिन्न बिरुवाहरु उत्पादन गरेका थिए । केही दिनदेखि मेहनत गरेर उत्पादन गरेको बिरुवा आज बिक्री गरेको दाहालले बताइन् ।

स्कुलकी अभिभावक शोभा ढुंगानाले परियोजनामा आधारित शिक्षा अत्यन्तै राम्रो कार्यक्रम भएको बताइन् । स्कुलले यो कार्यक्रमलाई पछ्याउनु राम्रो पक्ष भएको उनको भनाइ थियो । यसले विद्यार्थीहरुलाई सानै उमेरदेखि किताबी ज्ञानको अलावा दैनिक जीवनमा आवश्यक पर्ने व्यवहारिक सिप सिकाउन ठूलो भूमिका खेल्ने उनले बताइन् ।

स्कुलकी प्राचार्य इन्दिरा कार्कीले शिक्षालाई जीवनसँग जोड्न यस किसिमको कार्यक्रम आवश्यक रहेको बताइन् । यस्ता कार्यक्रमले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भरताको बाटो देखाउन सहयोग पुग्ने प्राचार्य कार्कीको भनाइ थियो । यसले बालबालिकालाई सानै उमेरदेखि उद्यमशिलतामा प्रेरित गर्ने कार्कीले बताइन् ।

अध्ययन बाहेक विद्यार्थीको रुची र प्रतिभा उजागर गर्न पनि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले बताए । स्कुलले बालबालिकालाई समाजप्रति उत्तरदायी हुन सधैं प्रेरित गरिरहेको आचार्यको भनाइ छ । समापन समारोहकै अवसर पारेर स्कुलले लामो समयदेखि कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सम्मान पनि गरेको छ ।

विद्यालयले ३१ औं वार्षिकोत्सवको अवसरमा एक सातासम्म आयोजना गरेको मेलामा यस अघि महानगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, विज्ञान प्रदर्शनी, समुदायका लागि स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम पनि सम्पन्न भएको थियो । यस्तै आज नै विद्यालयले आभिभावक दिवस पनि मनाएको छ । 

कमेन्टहरु