चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र


काठमाडौँ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ ।
पहिलो चौमासिकमा नेपाल सरकारको खर्च रु चार खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन रु तीन खर्ब २६ अर्ब ५५ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय तीन प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव एक प्रतिशत अर्थात् रू दुई खर्ब २२ अर्ब ३८ करोडले बढेर रू ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ ।
त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव दुई प्रतिशत अर्थात् रू ६५ अर्ब चार करोडले बढेर रू ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ ।वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर दुई दशमलव ७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारितऔसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ७४ प्रतिशत र कर्जाको भारितऔसत व्याजदर सात दशमलव ३८ प्रतिशत रहेको छ ।






















